दुई शिशुको मृत्युपछि स्थानीयले स्वास्थ्य केन्द्र र नगरपालिकामा लगाए तालाबन्दी,

मंगलबार, ०६ साउन २०८२

रौतहट : कटहरिया नगरपालिका–५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवाको अभाव र डाक्टरहरूको लापरबाहीका कारण दुई शिशुको मृत्यु भएको भन्दै स्थानीयहरूले आज केन्द्र र नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

 स्थानीय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । त्यहाँ नर्मल डेलिभरी (छोरा) भए पनि बच्चा नरोएपछि शिशुलाई झाँझ फुलस्थित एक निजी क्लिनिकमा पठाइएको थियो । तर क्लिनिक पुग्नुअघि नै शिशुको मृत्यु भइसकेको थियो । 

 त्यसै गरि आजै साँझ कटहरिया नगरपालिका–३ बडेर्वाका मनोज साहकी छोरी पुनमलाई पनि व्यथा लागेपछि स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । गर्भवती महिलाको भिडियो एक्स–रे गरेर बच्चा जन्मन अझै १० दिन बाँकी रहेको भन्दै डाक्टरले औषधि दिई घर पठाइएको थियो । 
तर व्यथा झन् बढेपछि परिवारले पुन शिवनगरस्थित एक निजी क्लिनिकमा लगेका थिए । बिच बाटोमै पुनमको नर्मल डेलिभरी भए पनि शिशुको अवस्था जटिल भएकोले वीरगन्ज लैजाँदै गर्दा बाटोमै शिशुको ज्यान गएको पीडित मनोज साहले बताएका छन् ।

  तेस्रो घटना गत शनिबार राति भएको थियो। स्थानीय पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्याको प्रयास गरेपछि उनलाई तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा पु¥याइएको थियो। तर केन्द्रमा अक्सिजनको व्यवस्था नभएकै कारण उनको पनि उपचारको अभावमा ज्यान गएको परिवारको भनाई छ ।

 पीडित परिवारहरू र स्थानीय बासिन्दाहरूले स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधि, ग्लब्स जस्ता आधारभूत स्वास्थ्य सामग्रीको समेत अभाव रहेको गुनासो गरेका छन् । ‘स्वास्थ्य केन्द्रको हालत यति भयावह छ कि डाक्टरहरू समेत समयमा उपस्थित हुँदैनन्,’ स्थानीय एक बासिन्दाले बताएका छन् ।
 घटनापछि आक्रोशित स्थानीयहरूले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र कटहरिया नगरपालिकाको कार्यालयमा ताल्चा लगाउँदै दोषी डाक्टर र कर्मचारीविरुद्ध कारबाहीको माग गरेका छन् ।

 मेयर अजय प्रकाश जैसवालको लापरबाहीको कारण प्राथमिक स्वास्थ्य कार्यालयको अवस्था दयनीय भएको स्थानीयहरूको आरोप रहेको छ । यसैबिच स्वास्थ्य केन्द्र र नगरपालिकाको ताला खुलाउन इलाका प्रहरी कार्यालय कटहरियाको प्रांगणमा नगर स्वास्थ्य संयोजक डाक्टर र स्थानीयहरूबिच छलफल जारी रहेको कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार