कम्युनिष्ट पार्टीको ‘सदाबहार नेतृत्व’: ओली, प्रचण्ड, माधव, उपेन्द्रदेखि वैद्यसम्मको गद्दी मोह

विहीबार, ०८ साउन २०८२

काठमाडौँ : नेपालमा कम्युनिष्ट धारको नेतृत्व गर्ने अधिकांश नेताहरूले पार्टीको नेतृत्वमा पुगेपछि सोही पदमा सदाबहार रजगज गर्ने गरेका छन् । सार्वजनीकरुपमा प्रश्न उठ्दा नेतृत्व हस्तान्तरण गरिहाल्ने बताएपनि पार्टीभित्र विकल्पकारुपमा कोही आए त्यसलाई तलैबाट निमोठ्ने र आफ्नो हालीमुहाली कायम राख्ने प्रवृत्तिलाई पार्टी नेतृत्वले निरन्तरता दिँदै आएका हुन् ।

राजनीतिक अधिकारलाई संस्थागत गर्ने चरणमा पार्टीलाई हाँक्ने नेताहरू नभएपछि एउटै व्यक्ति लामो समयसम्म पार्टीको प्रमुख पदमा बस्नै पर्ने बाध्यता पनि थियो । तर, अहिले सबै राजनीतिक दलमा एकसे एक नेताहरू जिम्मेवारी पाएको खण्डमा नेतृत्व गर्न सक्षम छन् । यद्यपि अधिकांश दलहरूमा वर्षौँदेखि एकैजनाले पार्टी कब्जा गरेर हालीमुहाली गरिरहेका छन् ।  

नेकपा एमालेमा सोही प्रवृत्ति हाबी भएको छ । पार्टी नेतृत्वमा २ कार्यकाल बिताएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वमा तेस्रो कार्यकाल समेत कब्जा गर्ने पक्का भएको छ । ओली आफैले ल्याएको नेतृत्वका लागि २ कार्यकाल र ७० वर्षे उमेरहदको वैधानिक व्यवस्थालाई पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट जबरजस्त हटाएरै छाडे । यो सँगै ११औँ महाधिवेशनमा उनी तेस्रो पटक नेतृत्वमा आउने पक्का भएको नेकपा एमालेका नेता महेश बस्नेतले बताए ।

‘आगामी पार्टी नेतृत्वमा कमरेड केपी ओलीको विकल्प थिएन र छैन’, बस्नेतले भने ‘त्यसै अनुसार एमाले बैठकले निर्णय गरेको छ । एमालेमा दोस्रो तहका नेताहरू नेतृत्वकालागि तयार भइसक्नुभएको छैन ।’, ओलीको विकल्पमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने योजनामा रहेपनि ओलीको निर्देशनमा केन्द्रीय कमिटीले उनको सदस्यता निष्क्रिय बनाइदिएको छ ।

‘भण्डारीको सदस्यता स्वतः निष्क्रिय भएको छ’, एमाले महासचिव शङ्कर पोखरेलले भने ‘मुलुककै गरिमामय पद राष्ट्रपति, सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउनुले लोकतन्त्रमाथि प्रश्नहरू उठ्ने भयो र यो व्यवस्था नै कमजोर हुने स्थिति आएकाले उहाँको सदस्यता स्वतः निष्क्रिय हुनेगरी पार्टीले निर्णय लिएको छ ।’

नेताहरूको यो व्यवहारले पार्टीमा नयाँ व्यक्ति विकल्पको रूपमा अघि सार्न सक्ने अवस्था नरहेको प्रस्ट देखाएको छ । एमालेमा आफू बाचुन्जेल ओलीले अध्यक्ष पद हस्तान्तरण गर्ने अवस्था नरहेको एमालेकै असन्तुष्ट नेताहरूले टिप्पणी गरेका छन् ।

पार्टीमा युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, कर्ण थापा, उषाकिरण तिमल्सीनालगायत केही नेताहरूले भण्डारीलाई रोक्ने योजनासहित २ कार्यकाल, ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपतिको सदस्यता निष्क्रियताको विषयमा फरक मत राखेका छन् । तर, उनीहरूको आवाज पार्टी संस्थापन पक्षका नेताहरूले दबाएर राखेका छन् । यसले आगामी नेतृत्वका लागि ओलीको विकल्प नरहेको र वर्तमान उपाध्यक्षहरू तथा महासचिव सक्षम नरहेको स्वघोषित भएको नेता विद्या भण्डारी निकट नेताहरूले टिप्पणी गरेका छन् । 

त्यस्तै पार्टी स्थापनादेखि प्रमुख पदमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगत ३५ वर्षयता महामन्त्री र अध्यक्षको भूमिकामा छन् । कम्युनिस्ट राजनीतिमा संलग्न भएको १८ वर्षपछि ३५ वर्षको उमेरमा नेकपा मशालको प्रमुख पद महामन्त्री भएका उनी अहिले पनि पद हस्तान्तरणलाई बोलीमा सीमित बनाउने नेता मध्यका एक हुन् ।  विसं २०४६ सालमा नेकपा मशालको प्रमुख भए यताका ३६ वर्षदेखि निरन्तर पार्टीको नेतृत्वमा छन् ।

साढे तीन दशक प्रचण्डको एकल नेतृत्व स्वीकार गरेको माओवादी केन्द्रमा दोस्रो पुस्ताका नेताहरू नेतृत्वको लागि तयार छैनन् ।  सो दलका नेतृत्व गर्ने तहमा पुगेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पार्टीमा प्रचण्डको दबदबा सहन नसकेर निस्किएका थिए ।  त्यसपछि माओवादीमा कोही नेताहरू पार्टी अध्यक्षका लागि प्रचण्डको विकल्प उभिने आँट गर्दैनन् ।

उपमहासचिव जनार्दन शर्मा प्रभाकरले वेला बखत प्रचण्डलाई काउन्टर दिने खोजेजस्तो देखिए पनि अध्यक्ष प्रचण्डको अगाडी जनार्दनको केही नलाग्ने नेकपा माओवादी केन्द्रका नेताहरू बताउँछन् । ‘पार्टीको नेतृत्व गर्नु कम्ती चुनौतीपूर्ण छैन’, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हिमाल शर्माले भने ‘पार्टी नेतृत्वको तयारी त दोस्रो तहका नेताहरूले पनि गर्नुभएकै होला, तर यो विषय सजिलो छैन ।

पार्टी अध्यक्षले सावर्जनीकरुपमै नेतृत्वका लागि आव्हान  गर्नुभएको छ । यद्यपि अहिले नै कोही तयार भएजस्तो देखिदैन् ।’ नेतृत्व भनेको राजनीतिक आन्दोलनले स्थापित गर्ने जिम्मेवार पद भएको उनको भनाई छ । 

गत महाधिवेशनमा पार्टी विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नपाउने गरी विधान संशोधन गर्न प्रस्ताव गरे पनि प्रचण्ड नेतृत्वको अगाडि कसैले पनि चुनौती दिन नसकेको माओवादीका नेताहरू बताउँछन् ।  

३५ वर्षको हुँदा कट्टर वामपन्थीहरूको दल नेकपा मशालको प्रमुख अर्थात् महामन्त्री भएका पुष्पकमल दाहाल अघिल्लो ७० वर्ष भइसकेका छन ।  अझै उनी पार्टी नेतृत्व छाड्ने र नयाँलाई नेता स्थापित गर्न सहयोग गर्ने पक्षमा छैनन् । 

उता जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव पनि आजीवन पार्टी नेतृत्वमा छन् । २८ जेठ २०८१ म भएको महाधिवेशनमा उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । सामाजिक संस्थाको रूपमा गठन भएको मधेसी जनअधिकार फोरम नेपालको अध्यक्षमा उपेन्द्र यादव २०५४ मै चयन भएका थिए । यादव कम्युनिष्ट धारकै नेता हुन् ।

२०६३ मा मधेसी जनअधिकार फोरम नेपाल दर्ता गराएपछि यादव निरन्तर अध्यक्ष छन् । उनले नेतृत्वको विकल्प खोज्ने नेताहरू पाखा लगाइसकेका छन् ।  

जसपा नेपालमा उपेन्द्र यादवलाई महन्थ ठाकुर, राजेन्द्र महतो, डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठको डर थियो । उनीहरूले पार्टीको अध्यक्षमा दाबी गर्ने हो कि भन्ने चिन्ता भएका यादवले बिस्तारै सबै नेतालाई साइड लगाएर आफै अध्यक्ष बनेको मधेशी नेताहरूको आरोप छ ।

१५ वर्ष एमाले पार्टीको नेतृत्व (महासचिव) बनेका माधव कुमार नेपाल केपी ओलीले एमाले एकलौटी चलाएपछि पार्टी फुटाएर फेरि नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका नेता हुन् । गत महाधिवेशनमा उनले अरूलाई नेतृत्व हस्तान्तरण गर्न चाहेनन् ।

नेतृत्व हस्तान्तरण गर्न युवा पुस्ताको दाबाबकाबीच अनेकन तिकडम गरेर उनी अध्यक्ष बनेको नेकपा एसकी पूर्व सचिव रामकुमारी झाँक्रीले पटक पटक अभिव्यक्ति दिँदै आएकी छिन् । यही मुद्दा उठाउँदा पार्टीमा एक्लिएकी झाँक्री अहिले माधव नेपाल र उनको समूहसँग रुष्ट छिन् ।  अन्य साना कम्युनिष्ट घटकहरूमा समेत नेतृत्व हस्तान्तरणको समस्या उस्तै छ ।

नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र(विप्लव), नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, विभिन्न दल खोल्दै अध्यक्ष बनेका बाबुराम भट्टराई अहिले नेसपा नयाँ शक्ति पार्टीको अध्यक्ष नै छन् । उनीहरूकै नेतृत्वमा पार्टी विभाजन पश्चता स्थापना भएका दलमा नयाँ नेतृत्व आउने सम्भावना छैन । बरु नेतृत्वको लडाइँमा  थुप्रै कम्युनिष्ट नेताहरूले पार्टी फुटाएर साना पार्टी बनाउँदै आएका छन् ।

आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार