काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले आमाको रिक्तताको परिकल्पनाले आफूलाई अपूरणीय पीडाको अनुभूति भएको बताएका छन्।
भारतको मुम्बईमा उपचार गराइरहेका भण्डारीले मातातीर्थ औँसीको अवसरमा भावुक हुँदै फेसबुकमार्फत् यस्तो बताएका हुन्।
उनले आमा भौतिक रूपमा नभएको अस्पतालको शैय्यामा थाहा पाएको पनि उल्लेख गरेका छन्। साथै उनले आमाले देखाएकाे सत्मार्गमा हिँड्न सकूँ भनी कामनासमेत गरेका छन्।
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइतेका भण्डारीको नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ।
आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो।
सोमबार भण्डारीले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र छिट्टै नेपाल फर्किने बताएका थिए।
प्रतिक्रिया