काठमाडौँ : बैसट्ठी हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ बचत राफसाफ गर्न सरकारले स्थापना गरेको संस्था नै भद्रगोल बनेको छ । बचतकर्ताको रकम अपचलन र आर्थिक अनियमितता गरेका २७ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आफैँ ‘समस्याग्रस्त’ अवस्थामा पुगेको हो ।
समस्याग्रस्त घोषित केही सहकारीले एक लाख रुपैयाँभन्दा कम बचत रकम फिर्ता गरे पनि अधिकांश सहकारीका बचतकर्ताको बचत फिर्ता गरी हिसाब मिलान गर्ने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । मङ्सिर ४ र ५ गते सहकारपीडितले समितिको कार्यालय अगाडि प्रदर्शन र घेराउ गरेपछि पदाधिकारी कार्यालय आउन छाडेका छन् ।
समितिमा अध्यक्ष श्रीमणकुमार गौतमसहित सदस्य उद्धवप्रसाद तिमल्सेना, काशीचन्द्र बराल, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्ले छन् । सदस्यसचिव टीकामणि न्यौपानेले अध्यक्ष र सदस्य कार्यालय नआएको पुष्टि गरे ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी विभागमा दर्ता भएका सहकारीको मात्रै नियमन गर्छ । सहकारीको बचत रकम अपचलन, दुरुपयोग र ठगी प्रकरणमा अनुसन्धान, छानबिन तथा सहकारीपीडित नागरिकको बचत फिर्ताको काम अघि बढाउनुपर्ने भए पनि समिति आफैँ भद्रगोल अवस्थामा पुगेको छ ।
कार्यालयका शाखा अधिकृत डम्बरु दाहालका अनुसार सहकारीपीडितको आन्दोलनपछि कार्यालयको कामकाज प्रभावित भएको छ । उनले भने, “नियमित काम भइरहेको छ तर सहकारीको बचत राफसाफ गर्ने मुख्य काम प्रभावित भएको छ । अध्यक्ष नआएपछि काम नहुनु स्वाभाविक हो । चेकमा अध्यक्ष र सदस्यसचिवको हस्ताक्षर आवश्यक पर्ने भएकाले पनि समस्या भएको हो ।”
सहकारीपीडितका अगुवा खगेन्द्र काफ्लेले सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता गरे पनि सहकारी सञ्चालकले १० वर्षदेखि बचत फिर्ता नगरेको बताए । उनका अनुसार २०७२ देखि समस्यामा परेका सहकारीविरुद्ध २०७४ मा उजुरी दिएर निरन्तर धाइरहेका बचतकर्ता आफ्नो जीवनभरिको कमाइ फिर्ता हुने आशामा छन् ।
उनले भने, “विभिन्न बहाना देखाएर सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । एक लाख रुपैयाँभन्दा कम बचतकर्ताको रकम फिर्ता भए पनि एक लाखभन्दा बढी बचत गर्नेको रकम फिर्ता भएको छैन । यस्तो काम देखाउन गरिएको प्रपञ्च मात्रै हो ।”
शाखा अधिकृत दाहालका अनुसार केही सहकारीका ऋणी सदस्य र बचतकर्ताबीच हिसाब मिलान भएको छ । उनका अनुसार हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड र स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको हिसाब मिलान भएको छ ।
त्यसैगरी शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडको पनि हिसाब मिलान भएको छ । यससँगै ती सहकारीमा बचत गरेका केही बचतकर्ताले रकम फिर्ता पाए पनि धेरैजसो सहकारी सञ्चालक बचत रकम फिर्ता गर्न तयार छैनन् ।
दाहालले भने, “सहकारीभित्र अनेक समस्या देखिएका छन् । सहकारीको बचत रकम कम्पनी खोलेर लगानी गरिएको छ । बैङ्कले भौतिक संरचना लिलाम गर्दा समितिले त्यहाँ रहेका सामग्री लिलाम गरिरहेको छ तर मूल्य निर्धारणलगायतका प्राविधिक जटिलताका कारण काम गर्न कठिन भएको छ ।”
गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया