मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा २६ वर्षीय अतीतको मृत्यु

आइतबार, २८ मंसिर २०८२
फाईल फोटो

इटहरी ।  मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 आज (आइतबार) बिहान ०५ः४५ बजे सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो । 

 लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको थियो  । 

दुर्घटनामा ट्याक्टरका सहचालक सोही स्थान बस्ने २६ वर्षीय अतीत राई घाइते भएका थिए। घाइते राईलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा बिहान ०७ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे सोही अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले इलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराएपछि प्रहरी चौकी गछियाबाट प्रहरी नायब निरीक्षकको टोली घटनास्थलमा खटिएको थियो।

 प्रहरीले ट्याक्टर चालक सोही स्थान बस्ने ४० वर्षीय प्रेमकुमार राईलाई नियन्त्रणमा लिएर प्रहरी चौकी गछियामा राखेको छ।

 दुर्घटनाग्रस्त ट्याक्टर हाल घटनास्थलमै रहेको र प्रहरी कार्यालयतर्फ ल्याउने पहल भइरहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार