काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिन एमाले संस्थापन पक्षले निरन्तर बैठक र छलफल गरिरहेको छ। केन्द्रीय कमिटीको बैठकअघिबाट सुरु भएको छलफलको निरन्तरता शुक्रबार पनि चल्यो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा संस्थापन पक्षका नेताले शुक्रबार साँझ कर्णाली प्रदेशका उपलब्ध केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।
‘शुक्रबार साँझ कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल भएको छ,’ प्रधानमन्त्री ओलीनिकट एक पदाधिकारीले भने। उनका अनुसार यस्तो छलफल सबै प्रदेशका केन्द्रीय सदस्यहरूसँग हुनेछ। ‘विधान अधिवेशनका क्रममा सबैसँग छलफल हुनेछ। खासगरी पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीमा सक्रिय राजनीति गर्न खोजेको र उनले पार्टीभित्र ध्रुवीकरण गरी कार्यकर्तालाई अलमलमा पार्न खोजेको विषयमा छलफल हुन्छ। छलफलपछि केन्द्रीय सदस्यहरूलाई स्पष्ट निर्देशन जान्छ,’ ती पदाधिकारीले भने।
संस्थापन पक्षले महासचिव शंकर पोखरेलको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनहुँ छलफल गरिरहेको छ। प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई दिनहुँजसो निर्देशन दिने काम पनि संस्थापन पक्षबाट भइरहेको छ।
पोखरेसहितका उपलब्ध पदाधिकारी, प्रदेश इन्चार्ज, प्रदेश अध्यक्षसहितको बैठक बुधबार राति पनि बसेको थियो। उक्त बैठकका सहभागी बिहीबार बिहान ४ बजे मात्रै बालुवाटारबाट निस्केका थिए।
संस्थापन पक्षले भण्डारीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा कार्यकर्तालाई नजान र प्रतिवाद गर्न निर्देशन दिएको छ। ‘वैचारिक रूपमै प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ, संविधानको मर्मविपरीत भन्दै भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन अभियानलाई प्रतिवाद गर्न भनिएको छ,’ छलफलमा सहभागी एक नेताले जानकारी दिए।
भण्डारी पार्टी सदस्यता नवीकरणका लागि निर्वाचन आयोग र अदालतमा गए के गर्ने भन्ने विषयमा पनि संस्थापन पक्षमा छलफल भएको छ। पार्टीका नेता–कार्यकर्ताबिच अभियान लिएर जान लागेकी भण्डारीलाई कसरी रोक्ने भन्ने सम्बन्धमा संस्थापन पक्षले चरणबद्ध रूपमा मातहतका निकायलाई निर्देशन दिने नीति लिएको छ।
केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पार्टीभित्र राजनीतिक ध्रुवीकरण सुरु भएको छ। ध्रुव्रीकरण हुन नदिन संस्थापन पक्ष निरन्तर प्रयासमा छ। भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न बालुवाटारमा निरन्तर छलफल भैरहेको विषयमा जिज्ञासा राख्दा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यस्तो केही नभएको बताए। ‘बालुवाटारमा मान्छेको आउजाउ त भैरहन्छ’, उनले भने।
आफूमाथि पार्टी केन्दबाट अन्याय भएको भन्दै भण्डारीले तल्लो तहसम्म जाने घोषणा गरेकी छिन्। भण्डारीको यो अभियानलाई पनि रोक्न संस्थापन पक्षले अवरोध खडा गर्ने देखिएको छ।
भण्डारीका गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टी प्रचार विभाग प्रमुख गौतमले भने, ‘पूर्वराष्ट्रपतिले शालीनपूर्वक पत्रकार सम्मेलन गर्नुभएको छ। उहाँले म को हुँ भन्ने कुरा ख्याल गर्नुभएन, राष्ट्रको अभिभावक, साझा व्यक्तित्व र गणतन्त्रको प्रतीक हुँ, भन्ने कुरा भुलेको देखियो।’
उनले केन्द्रीय सदस्यसँग केन्द्रीय कमिटी बैठकका निर्णयहरू अक्षरस पालना गर्ने विषयमा छलफल भैरहेको बताए। ‘केन्द्रीय कमिटीको निर्णय कुनै आवेगमा र उत्तेजनामा गरिएको होइन, गणतन्त्रलाई संस्थागत गर्न, संविधानलाई सम्मान गर्न गरिएको निर्णय हो, यो कोहीप्रति लक्षित छैन,’ गौतमले भने।
संस्थापन पक्षले निरन्तर बैठक गरेको थाहा पाएपछि भण्डारी पक्षका नेताहरू पनि भंगालस्थित भण्डारी निवासमा दिनदिनै भेला भइरहेका छन्। उनीहरूले पनि संस्थापन पक्षका बाधाव्यवधान चिर्ने रणनीति तय गरिरहेको स्रोतको दाबी छ। एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि विभिन्न तहमा छलफलमा जुटेकी भण्डारी केही दिनपछि देश दौडाहमा निस्कने तयारीमा रहेको निकट नेताहरू बताउँछन्।
सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयप्रति सञ्चारमाध्यममा कुनै टिप्पणी नगरेकी भण्डारीले आफू निकट नेताकार्यकर्तासँग भने छलफल गरेकी छिन्। गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले संविधानका विभिन्न धारा उद्धृत गर्दै भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो।
निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति राखेका थिए। बैठकस्थलमा निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेख्न लाग्दा थापामाथि भौतिक आक्रमणको प्रयाससमेत भएको थियो। अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नगर्ने घोषणा गर्दै बैठक सकिएको जानकारी गराएका थिए।
पार्टीभित्र अन्तरसंघर्ष गर्ने घोषणा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमै बसेर अन्तरसंघर्ष गर्ने बताएकी छिन्। आफ्नो सदस्यता नवीकरण पहिला नै भइसकेको र यसलाई ठुलो मुद्दा बनाउनुनपर्ने भन्दै उनले पार्टीभित्र बसेर अन्तरसंघर्ष गर्ने बताएकी हुन्।
‘मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो। सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा एमालेमा आबद्ध भएर अगाडि बढ्नु नै थियो। यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा नेकपा एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने संकल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ,’ भण्डारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनिन्।
एमाले केन्द्रीय कमिटीले मंगलबार भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको छ। एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेकी हुन्।
उनले भनिन्, ‘नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ।’
उनले अगाडि भनिन् ‘हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्त्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो। यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो।’
सदस्यता नवीकरण विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीहरूसँग पटकपटक कुराकानी र छलफल गरेको समेत उनले बताइन्। उनले एमाले केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चारमाध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तर्वार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँको पनि बताइन्।
उनले भनिन्, ‘मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेराबिचमा सौहार्दपूर्ण वातावरणमा छलफलसमेत भएको थियो। त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदै आएको थियो।
मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढंगले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमासमेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा र निर्णयहरूबारे पार्टीले जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।’
यसै प्रसंगमा उनले थपिन्, ‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ।’
उनले आफूमा कुनै पदप्रति लालसा र आशक्ति नभएको पनि बताइन्। उनले भनिन्, ‘ममा कुनै पदका प्रति लालसा, महत्त्वाकांक्ष र आशक्ति छैन। किनकि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो।’
भण्डारीले पार्टीमा आबद्ध भएर काम गर्ने टुंगोमा आफू पुगेका कारणले सदस्यता नवीकरण गरेको समेत बताइन्। ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ। जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुंगोमा पुगें, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरें,’ उनले भनिन्।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया