मुस्ताङ : मुस्ताङको घरपझोङ–५ ढुम्बाका किसान कर्म गुरुङ स्याउखेतीमा पाँच दशकदेखि लागिरहेका छन् ।
उनले परम्परागत खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै मुस्ताङमा स्याउखेतीको नयाँ युगको सुरुवात गरेका छन् । परिश्रम, दूर दृष्टि र लगनशीलताले कसरी कृषि क्षेत्रमै करोडौँको कारोबार सम्भव हुन्छ भन्ने गुरुङको जीवनले देखाएको छ ।
१३ वर्षको उमेरमै बुबाको निधनपछि गुरुङले पुख्र्याैली चिम्ले स्याउ फार्मको जिम्मा सम्हाले । सुरुमा स्याउ बिक्री गर्न नसकेर पशुलाई खुवाउनु पर्ने बाध्यता थियो । तर अहिले गुरुङ वार्षिक पाँच सय मेट्रिक टन स्याउ उत्पादन गर्दै तीनदेखि चार करोड रुपैयाँ आम्दानी गरिरहेका छन् ।
पछिल्लो समय उनले ‘फुजी जात’का पाँच हजार हाइब्रिड स्याउका बिरुवा रोप्दै नयाँ प्रविधिमा आधारित उच्च घनत्व स्याउखेती विस्तार गरिरहेका छन् । ३०० रोपनी निजी र २०० रोपनी लिजमा लिएको जमिनमा गुरुङले परम्परागत र हाइब्रिड दुवै स्याउखेती गर्दै आएका छन् ।
स्याउखेतीसँगै उनले ५०० भन्दा बढी च्याङ्ग्रा, १० घोडा, ९ जर्सी गाई र मौरी पालनमार्फत मल उत्पादन र आम्दानीमा विविधता ल्याएका छन् । जर्सी गाईबाट मात्रै मासिक २ लाख आम्दानी हुँदै आएको गुरुङ बताउँछन् । च्याङ्ग्राबाट पाठपाठी उत्पादन र मासु बिक्री हुँदै आएको छ ।
परम्परागत खेती विस्थापित गर्दै हाइब्रिड खेतीमा पूर्ण रूपले रूपान्तरण गर्न लागेका गुरुङको भनाइ छ, “अबको पाँच वर्षमा स्याउ खेतीबाट बचत सुरु गर्छु, हालको सबै आम्दानी खेतीमै लगानी गर्दै आएको छु ।”
स्याउ खेतीका लागि कोल्ड स्टोर निर्माण, कृषि यान्त्रिक उपकरण प्रयोग, सुकुटी उत्पादन, र स्थानीयलाई स्थायी तथा अल्पकालीन रोजगारी सिर्जना गर्दै गुरुङले सम्पूर्ण मुस्ताङमा कृषि क्रान्तिको नेतृत्व गरिरहेका छन् ।
गुरुङको सफलता देखेर मुस्ताङका अन्य किसान पनि हाइब्रिड खेतीतर्फ आकर्षित भएका छन् । उनी भन्छन्, “यहाँको जमिन, हावापानी र मेहनत सही भए स्याउखेतीबाट सबै किसान करोडपति बन्न सक्छन् ।”
तर, जग्गा नाप जाँच नहुनु, लिज प्रावधानमा स्पष्टता नहुनु, जलवायु परिवर्तन र सिँचाइ अभावले स्याउखेतीमा चुनौती थपिएको गुरुङ बताउँछन् । “काली गण्डकी नदीको पानी लिफ्टिङ गरी उच्च भेगसम्म पुर्याउन सके खेतीमा क्रान्ति आउँछ,” उनले जोड दिए ।
बेनी–जोमसोम–कोरला सडक विस्तारपछि मुस्ताङको स्याउ पोखरा र काठमाडौँ पुर्याउन सहज भएको र पर्यटकको बढ्दो आवागमनले स्याउ फुटकर रूपमा पनि राम्रो मूल्यमा बिक्री हुन थालेको गुरुङ बताउँछन् ।
देश छोड्न सक्ने अवसर हुँदाहुँदै पनि आफ्नै माटोमा मेहनत र लगनशीलताबाट आत्मनिर्भर बनेका कर्म गुरुङ आज मुस्ताङका एक प्रेरक कृषि उद्यमी बनेका छन् । स्याउखेतीबाट सुरु भएको उनको ‘हरित क्रान्ति’ले समग्र मुस्ताङलाई स्याउको अन्तर्राष्ट्रिय हब बनाउने सपना बोकेको छ ।
प्रतिक्रिया