कोशीमा ट्राफिक नियम उल्लंघन गर्ने २ लाखभन्दा बढी सवारीसाधन कारबाहीमा, एक वर्षमा ४१८ को मृत्यु

मंगलबार, १३ साउन २०८२
File Photo

विराटनगर : कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने २ लाखभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको छ। ट्राफिक नियमको अवज्ञा र लापरवाहीका कारण सोही अवधिमा ४१८ जनाले ज्यान गुमाएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार २ लाख १३ हजार ६९५ सवारीसाधन कारबाहीमा परेका छन्। यसबाट १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।

प्रदेशका १४ वटै जिल्लामा क्रियाशील ९६ ट्राफिक इकाइहरूले नियमित चेकजाँच, निगरानी तथा प्रविधिको प्रयोगमार्फत कारबाही अभियान सञ्चालन गरेका थिए। प्रमुख उल्लंघनमध्ये हेलमेटको फिता नबाँध्ने, सिट बेल्ट नलगाउने, मापसे, मोबाइल चलाउँदै गाडी चलाउने, लाइसेन्स नभई सवारी सञ्चालन गर्ने, ट्राफिक संकेत उल्लंघनजस्ता कार्य प्रमुख छन्।

सार्वजनिक यातायातले क्षमता भन्दा बढी यात्रु राख्ने, अनधिकृत पार्किङ गर्ने, तीव्र गति र ट्राफिक नियमको अवज्ञा गर्ने प्रवृत्तिले समस्यालाई थप जटिल बनाएको डीएसपी श्रेष्ठको भनाइ छ। प्रविधिको उपयोगमा पनि ट्राफिक प्रहरी सक्रिय रहेको बताइएको छ।

हालसम्म प्रदेशका ९३२ स्थानमा सीसी क्यामेरा जडान गरिएसँगै झापाको झिलझिले, विराटनगरको दुधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर जडान गरिएका छन्। लामो दूरीका र भारतीय नम्बर प्लेट भएका गाडीहरूलाई ट्राफिक एपसहित निगरानी गर्न ६ स्थानमा विशेष चेकपोइन्ट स्थापना गरिएको छ।

सवारी गति नियमन गर्न २१ स्थानमा टाइम कार्ड इन्ट्री व्यवस्था गरिएको छ भने कारबाहीलाई पारदर्शी बनाउन टीभीआरएस र ई–चालान प्रणाली लागू गरिएको छ। तीव्र गतिको निगरानीका लागि राडरगन पनि प्रयोग गरिएको छ।

यति व्यापक प्रविधि प्रयोगका बाबजुद ट्राफिक नियम उल्लंघन र दुर्घटनामा कमी नआएको ट्राफिक प्रहरीको भनाइ छ। गत वर्ष ४१८ जनाको मृत्यु हुनुका साथै ७११ जना गम्भीर घाइते र ८ हजार ५३० जना सामान्य घाइते भएका छन्। अधिकांश दुर्घटनाको कारण चालकको लापरबाही रहेको बताइएको छ।

सवारी सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीले २६ हजार २९३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ६ लाख १६ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन्। तथापि, जानकारी हुँदाहुँदै लापरवाहीपूर्ण सवारी सञ्चालन निरन्तर भइरहेको ट्राफिकको टिप्पणी छ।

प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने, “एक सेकेण्डको लापरबाहीले ज्यान जान सक्छ। नियम पालना आफ्नै सुरक्षाका लागि हो।” उनले सबै सडक प्रयोगकर्तालाई जिम्मेवार भएर नियम पालना गर्न आह्वान गरेका छन्।

यो पनि

कोशीमा सीटी सफारी : अनुशासनहीन हुँदा बन्दै छ दुर्घटनाको मुख्य कारक

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार