काँकडभिट्टा–लौकही सडक निर्माणमा सङ्कटै सङ्कट : अधुरो एसियन हाइवेले सास्ती थप्यो

मंगलबार, १३ साउन २०८२

भद्रपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन। यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि तीन वर्षभित्र सम्पन्न नहुने अनुमान गरिएको छ ।

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडकमध्ये ९५.७६ किलोमिटर स्तरोन्नति सुरु गरिएको थियो। एसियाली विकास बैङ्कको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानी रहेको उक्त योजना सम्पन्न भएपछि काँकडभिट्टा- लौकही सडक खण्डअन्तर्गत सहरी क्षेत्रमा चार लेनको बिचमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेन गरी ५० मिटर चौडाइको हुनेछ ।

त्यसैगरी,अर्ध सहरी क्षेत्रमा चार लेनमा दुवैतर्फ एक लेन थप गरी ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक हुने जनाइएको छ । काँकडभिट्टा–लौकही सडक योजनालाई काँकडभिट्टा–केर्खा सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा– इटहरीसम्म ५०.७६ किलोमिटर पश्चिमी खण्डमा गरी दुई भागमा विभाजन गरिएको छ । हालसम्म दुवै खण्डको ३० प्रतिशत भौतिक तथा वित्तीय प्रगति हुनुपर्नेमा पूर्वी खण्डको २१.१० प्रतिशत र पश्चिम खण्डको २५ प्रतिशत मात्र प्रगति छ ।

पूर्वी खण्डको काँकडभिट्टा–केर्खा सडक १० अर्ब छ करोडमा इभरस्कोन–कालिका जेभीले वि.सं. २०८० कात्तिक २ गते ठेक्का सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि कार्य प्रारम्भ गरेको सो खण्डका इन्जिनियर आश्रय महतले जानकारी दिए ।

सो खण्डमा ३०० मिटरभन्दा साना १८ वटा पुलमध्ये १७ वटा निर्माणाधीन छन् भने ६३ वटा कल्भर्ट निर्माण भएका छन् । दुई किलोमिटर ‘ड्रेन’ निर्माण गरिएको छ। आठ किलोमिटर सब–बेस सम्पन्न भएको छ । १.७ किलोमिटर बेस सम्पन्न भएको इन्जिनियर महतले बताए । यो सडक खण्डको पूरै भाग झापामा पर्दछ ।

विद्युतीय पोल सार्ने र सहरी क्षेत्रमा ‘साइट क्लियरेन्स’ अन्तिम चरणमा रहेको इन्जिनियर महतले बताए। हाल माटो अभावका कारण माटो भर्न नसक्दा केही ठाउँमा काम हुन नसकेको उनले बताए । ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कनकाई पुल निर्माणका लागि कोभेक क्रेग तुन्दी जेभीले पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का पाएको छ । हालसम्म उक्त पुलहरूको भौतिक प्रगति १९.३५ प्रतिशत छ ।

पश्चिम खण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्काहरू छन् । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर छ। उक्त ठेक्का क्रेग तुन्दी जेभीले रु नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता गरेको इन्जिनियर पल्लव श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, प्याकेज नं ३ मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १०.७६ किलोमिटर छ । उक्त प्याकेजको ठेक्का कोभेक क्रेग तुन्दी जेभीले चार अर्ब सात करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता गरेको इन्जिनियर श्रेष्ठले बताए। उनका अनुसार काम सुरु भएदेखि हालसम्मको प्रगति औसतमा २५ प्रतिशत छ ।

इन्जिनियर श्रेष्ठका अनुसार प्याकेज नं २ र ३ को कुल लम्बाइ ५०.७६ किलोमिटरमा २८ वटा ३०० मिटरभन्दा साना पुलमध्ये चारवटा पुल, ६५ वटा कल्भर्ट निर्माण सम्पन्न भएका छन् । यसैगरी, नौ किलोमिटर साइट ड्रेन, १५ किलोमिटर सब बेस, चार किलोमिटर बेस र २.३ किलोमिटर पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ ।

सहरी क्षेत्रमा सडकको क्षेत्राधिकारभित्रको घर, संरचना हटाउने कार्य भइरहेको र नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल सार्ने जिम्मा पाएको निर्माण व्यवसायीले ढिलाइ गर्दा साइट क्लियर नभएकाले सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको उनले बताए ।

पछिल्लो समय माटो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण लक्ष्यअनुसार प्रगतिमा बाधा परेको इन्जिनियर श्रेष्ठको कथन छ । उनले स्थानीय सरकार र प्रदेश सरकारले यस विषयमा आवश्यक सहजीकरण गरिदिएमा आगामी दिनमा निर्माण छिटो गर्न सकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार