काठमाडौँ । कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए । गोर्खाली होटल भनेर चिनिने यो होटलमा दुई वटा टेबल र चार वटा बेन्च छन् । एकातिर दिउरेमा चिया उम्लिरहेको छ, अर्कोतिर प्रेसरकुकरमा खानाको सिटी लाग्दैछ । होटलमा व्यस्त छिन्, जानुका भट्ट ।
भित्तामा मुसुक्क हाँसिरहेको युवकको तस्बिर टाँगिएको छ, दुई वटा फ्रेममा । उनी हुन्, २८ वर्षीय अर्जुन भट्ट । जेनजी आन्दोलनका शहिद । वैदेशिक रोजगारीका लागि उनले देश छाडेको १६ महिना मात्रै हुँदै थियो । दुबईको अत्यधिक गर्मी र कामको चापका कारण त्यहाँ टिक्न सकेनन् र फर्किए गत असारमा ।
दुबईबाट फर्किएको केही समयपछि उनको जन्मदिन थियो, असार १७ गते । साथीभाइलाई बोलाएर भव्य जन्मदिन मनाए । हँसिलो स्वभावका उनी परिवारका साथै साथीभाइका लागि निकै प्यारो थिए । “सबै उमेर समूहसँग उनी चाँडै घुलमिल हुन्थ्यो । साथीहरु पनि धेरै थिए उसका,” आमा जानुका भन्छिन् ।
करिब सात वर्षअघि जन्मदिनमा साथीहरु मिलेर उपहारस्वरुप खैरो कुकुर अर्जुनलाई दिएका थिए । उसको नाम अर्जुनले नै राखेका थिए, लिची । अर्जुनसँगै बढी झ्याम्मिन्थ्यो । खेल्थ्यो, रमाउँथ्यो अनि काखमा लुटुपुटु गथ्र्यो । अहिले लिची पनि उदास झैँ देखिन्छ । उसलाई धेरै माया गर्ने अर्जुन यो संसारमा छैनन् । बेलाबेला बाहिरतिर कसैलाई हेरिरहेको हुन्छ । लाग्छ, यो निर्दोष प्राणी अर्जुनकै प्रतीक्षामा छ ।
स्नातकसम्म अध्ययन गरेका अर्जुनले फर्केर पढाइलाई निरन्तरता दिन सकेनन् । न त यहाँ भनेजस्तो रोजगारी नै पाए । उनका एकजना दाइ अभिलाख यहीँ छन् भने एक दिदी विवाहपछि श्रीमान्सँग जापानमा बस्छिन्। दिदीले भनेकी थिइन्, “दुबईभन्दा जापान राम्रो छ भाइ, पहिले राम्ररी भाषा सिक्नु र आउनु ।”
दिदीको प्रस्ताव र परिवारको साथले उनी उत्साहित थिए। जापानी भाषा अध्ययनतिर लागे र भाषा परीक्षामा उत्तीर्ण पनि भए। परिवारका अनुसार आउँदो फागुनमा उनी बिहे गर्ने सोचमा पनि थिए ।
२५ वर्षअघि राजधानी छिरेको थियो भट्ट परिवार
अर्जुनको मूल घर गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल हो । गाउँमा भट्ट परिवारको आफ्नै खेतीपाती थियो । बस्तुभाउ थिए । छरछिमेक, आफन्त र गाउँको वातावरणमा रमिरहेका उनीहरुलाई नपुग्दो केही थिएन । तर छोराछोरीको भविष्य सम्झेर राजधानी आएको बताउँछन्, बुबा चित्रबहादुर । “आफू हुर्केको गाउँ छाडेर बिरानो शहर छिर्न मन थिएन तर छोराछोरीको शिक्षादीक्षा र भविष्य राम्रो हुन्छ कि भनेर यता आइपुग्यौँ,” उनले भने ।
विसं २०५७ सालमा परिवारसहित काठमाडौँ छिरेका चित्रबहादुरले केसम्म गरेनन् । तरकारी बेचे, कीर्तिपुरस्थित एक विद्यालयमा कार्यालय सहायकका रूपमा काम गरे, पछि होटल व्यवसाय सुरु गरे। आजभन्दा २५ वर्षअगाडि सपनाको शहर छिरेको भट्ट परिवारका सुरुआती दिन निकै कहरिला थिए, जतिबेला अर्जुन मात्र तीन वर्षको थिए ।
जेनजीहरुले गर्ने भनेको आन्दोलनमा सहभागी हुनेबारे अर्जुनले परिवारसँग पनि कुरा गरेका थिए । “२८ वर्ष उमेरसम्मका युवाहरुको आन्दोलन हो, देश परिवर्तनका लागि हामी पनि जानुपर्छ” भनेर पटकपटक उनले कुरा गर्थे ।
गत भदौ २३ गते बिहानै उनी घरमा बुबा–आमालाई भनेर नै साथीहरुसँग आन्दोलनमा सरिक भए । राजनीतिक बेथिति र भ्रष्टाचारविरुद्ध माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वर पुगेपछि त्यसले अर्कै रूप लियो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास मात्रै होइन, गोली नै बर्साउन थाल्यो । बेलुकासम्म काठमाडौँमा मात्रै २१ जनाले ज्यान गुमाएका थिए, जसमा अर्जुनसँगै कीर्तिपुरबाट गएका उनकै साथी पनि थिए ।
ठूलो सङ्ख्यामा हताहती भएपछि सर्वत्र आक्रोश थियो । आफ्नै साथी मारिएपछि अर्जुन पनि बेचैन भए । भोलिपल्ट कीर्तिपुरका साथीहरु भेला भएर जाने निर्णय गरिसकेछन् । आमा जानुकाले पटकपटक ‘नजा बाबु’ भनेर रोक्न खोजिन् । तर किशोर वयको उर्लिँदो जोसलाई कसले रोक्न सक्ने ? उनी साथीसँगै कीर्तिपुरबाट हिँडे। “एक घण्टामा आइपुगिहाल्छु भनेर पकाएको खाना पनि नखाई निस्किएको थियो,” जानुकाले सुनाइन् ।
अघिल्लो बेलुकादेखि नै काठमाडौँमा कफ्र्यु जारी भएकाले सर्वत्र सन्त्रास थियो । अर्जुन निस्किने बेला पनि छतमा उभिएर आमा हेरिरहेका थिए । काँधमा नेपालको झण्डा ओढेर अर्जुन साथीहरुसँग अघि बढिरहेका थिए । टोलीमा उनका दाइ अभिलाख पनि थिए ।
अर्जुन २४ भदौ गते दिउँसो घरबाट निस्कँदा करिब १ बजेको थियो । त्यसको एक घण्टापछि नै घरमा फोन आयो, नमीठो र अपत्यारिलो खबर लिएर । “कालीमाटीमा भएको प्रदर्शनमा अर्जुनको टाउकामा गोली लाग्यो” खबर यस्तो थियो। शरीर चिसो भएर आयो । अर्धबेहोस अवस्थामै अस्पताल जान खोजिन् तर कफ्र्युका कारण गाडी चलेको थिएन ।
उनलाई छोरालाई भेट्ने तीब्र इच्छा भएपछि छोराको साथीले स्कुटीमा राखेर बल्खुस्थित बयोधा अस्पताल पु-याए । अस्पतालमा भीड थियो । उनलाई आफ्नै छोरालाई पनि हेर्न दिइएन ।
परिवारका अनुसार अभिलाख र अर्जुनबीच दुई वर्षको मात्रै अन्तर छ । “दाजुभाइभन्दा पनि धेरै साथीजस्तो थियौँ,” अभिलाखले भने, “सँगै गेम खेल्ने, सँगै सुत्ने गथ्र्यौँ ।” भिडियो गेममा बढी रुचि राख्ने अर्जुन बढीजसो पब्जी खेल्थे । अभिलाखलाई त्यही सम्झना बढी आउँछ ।
आमा जानुकालाई भने खाना खाने बेलामा अर्जुनको धेरै याद आउँछ । “गेममा झुन्डिराख्ने बानी भएकाले उसलाई खाना खाने समय पनि पत्तो हुँदैनथ्यो,” उनले भनिन्, “कहिलेकाहीँ मै खाना खुवाइदिन्थेँ ।” दिनभर साथीभाइसँग रमाएर साँझ घर फर्कँदा अर्जुन ‘मम्मी’ भन्दै आइपुग्थे । अहिले पनि जानुकालाई यही याद आइरहन्छ ।
अर्जुनका दाइ अभिलाख पनि वैदेशिक रोजगारीमा जाने सोचमा थिए । जेनजी आन्दोलपछिको अवस्था र भाइ नै गुमाएपछि उनको मनस्थिति बिथोलिएको छ । सरकारले जेनजी शहिदका परिवारलाई रोजगारी दिने आश्वासन दिएकाले केही आशावादी भने देखिएका छन् ।
सरकारले क्षतिपूर्ति र राहतस्वरुप परिवारलाई रु १५ लाख दिएको छ । अर्जुनको नाम शहिदको सूचीमा नामाङ्कित पनि भएको छ । बुबाको सहारा अनि रित्तिएको आमाको काख कसैले भर्न सक्ने छैन । “मेरो छोरो १५ लाखको थियो त ?” जानुकाले मलिन आवाजमा भनिन्, “१५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि ।”
बुबा चित्रबहादुरको चाहना छ, छोराजस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस् । उनीहरुको बलिदान खेर नजाओस् । देश बस्नलायक बनोस् । सबैले रोजगारी पाऊन् । कलिलैमा कसैले विदेश जानु नपरोस् । भट्ट परिवारमा यतिबेला यस्तो रिक्तता छाएको छ, जुन कहिले भरिने छैन । बुबा चित्रबहादुरले भनेजस्तै त्यतिबेला मात्रै परिवारले राहतको महसुस गर्नेछ, जतिबेला राज्यबाट भ्रष्टाचार अन्त्य हुनेछ । राजनीतिक बेथिति अन्त्य भई सुशासन स्थापना र रोजगारी सिर्जना हुनेछ ।
प्रतिक्रिया