काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशन भन्ने विवाद चर्किंदै गएको छ। कांग्रेसभित्र दिनहुँ नियमित महाधिवेशनको पक्ष र विपक्षमा विवाद तथा भेला भइरहेका छन्।
यहीबीच कांग्रेसको नियमित महाधिवेशन पक्षधर विद्यार्थीहरूले काठमाडौंमा शुक्रबार वृहत्त भेला गर्ने भएका छन्। उनीहरूको रोयल बैंक्वेट तीनकुनेमा बिहान ११ बजेबाट भेला आयोजना हुने भएको हो।
नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं कांग्रेस युवा नेता भीमकुमार गौतमले जेनजी भावना सम्बोधन गर्न पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने बताएका छन्।
‘अहिलेको अवस्था जेनजीका कारणले सिर्जना भएको हो। उनीहरूलाई कांग्रेस राजनीतिको मूल धारमा ल्याउन र वडादेखि केन्द्रसम्म उहाँहरूको प्रतिनिधित्व सुनिश्चितता गराउनका लागि पनि नियमित महाधिवेशन आवश्यक छ,’ गौतमले भने।
उनले यतिबेला पार्टीमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विवाद आवश्यक नरहेको औंल्याएका छन्। यतिबेला देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस २१ फागुनका लागि तोकिएको प्रतिनिधि सभा चुनावमा केन्द्रित हुनुपर्ने उनले बताए।
‘चुनाव एउटा राजनीतिक दलको जीवनमा चलिरहने चक्र हो। महाधिवेशन पार्टीको आन्तरिक विषय हो। तर, यतिबेला देश संकटमा छ। यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार दल थप जिम्मेवार बन्नुपर्छ। देशलाई सही निकास दिनुपर्छ। हामी पार्टीको आन्तरिक विषयमा रुमलिनु हुँदैन,’ उनले भने। उनले यस्तो अवस्थामा पार्टीलाई सही निकास दिन दवाव दिने उद्देश्यका साथ कांग्रेसका युवा एक ठाउँमा गोलबद्ध भइरहेको बताए।
प्रतिक्रिया