भागेको १२ घण्टा नबित्दै पक्राउ परे लागुऔषधका थुनुवा

शनिबार, २४ साउन २०८२

विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा १२ घण्टा नबित्दै झापाबाट पक्राउ परेका छन् । 

झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू उपचारको क्रममा शनिबार बिहान मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका थिए । तर, फरार भएको करिब १२ घण्टाभित्र उनलाई प्रहरीले फेला पारेर नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार लिम्बूलाई पेट दुख्ने समस्या देखिएपछि शुक्रबार राति ११ः३० बजेतिर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको झ्यालबाट शनिबार बिहान ३ः१५ बजे हाम फालेर उनी फरार भएका थिए । फरार भएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली परिचालन गरिएको थियो । 

एसपी चिमरियाले लिम्बू भागेर भारततिर प्रवेश गर्न खोज्दै गर्दा दिउँसो २ः३० बजे झापाको झापा गाउँपालिका–५ मेचे टोलबाट पक्राउ गरिएको बताउ । टेम्पो चढ्दै गर्दा पक्राउ गरिएको उनको भनाइ छ । उनले भने, ‘भागेको करिब ११ घण्टामा पक्राउ गरेका छौं । फेला नपारेको भए भारत भाग्ने योजना रहेछ ।’ 

साउन २१ गते पक्राउ परेका लिम्बूलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको थियो । यसअघि मोरङको मिक्लाजुङ गाउँपालिका–९ का २५ वर्षीय हरिभक्त दर्जी र मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेल साउन १६ गते ब्राउन सुगरसहित पक्राउ परेका थिए । 

उनीहरूले उक्त लागुऔषध नगिन लिम्बूबाट खरिद गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो । त्यसपछि प्रहरीले लिम्बूलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो । उनीमाथि अनुसन्धान जारी रहेको एसपी चिमरियाले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार