मोरङको बूढीगंगामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

शनिबार, ३१ साउन २०८२

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा शुक्रबार राति भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

एउटा दुर्घटना बूढीगंगा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति करिब १० बजेर १५ मिनेटतिर भएको प्रहरीले जनाएको छ । नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक ३५ वर्षीय विकासकुमार भगत गम्भीर घाइते भएका थिए । 

उनलाई उपचारका लागि तत्काल विराट शिक्षण अस्पताल पुर्याइएको थियो । तर, राति १२ बजेर ३२ मिनेटमा उपचारका क्रममा भगतको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा राखिएको छ ।

अर्को दुर्घटना करिब ११ बजेतिर कोशी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित एसियन फ्यूल सेन्टरनजिक भएको हो । नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को २१ प ८६९२ नम्बरको मोटरसाइकल सडकको डीभाईडरमा ठोक्किँदा पछाडि सवार विराटनगर–४ का ४२ वर्षीय कात्तिक विश्वास गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरी तत्काल कोशी अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर लम्सालले बताए । 

उक्त दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार