काठमाडौँको बूढानिलकण्ठमा मोटरसाइकल–स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते

सोमबार, ०२ भदौ २०८२

काठमाडौँ : काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरी प्रभाग बूढानिलकण्ठका अनुसार आइतबार बिहान करिब १:४७ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानिलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानिलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको छ र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, करिब २८–३० वर्षका एक पुरुष र करिब ३०–३२ वर्षका अर्को युवक गम्भीर घाइते भएका छन्। दुवै जनाको टाउको र हातमा चोट लागेको छ र उनीहरूको समेत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते भएका सिराहा जन्दह–४ घर भएका २९ वर्षीय भोला थापालाई उपचारको क्रममा बिहान २:१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यस्तै, करिब ३५ वर्षका अझै नाम, थर र ठेगाना नखुलेका एक पुरुषको पनि सोही समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ भने मृतक र घाइतेका आफन्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार