वराहक्षेत्र नगरपालिका कार्यसम्पादनमा सुनसरीकै उत्कृष्ट पालिका,प्रदेशमा पाँचौँ

आइतबार, ०८ भदौ २०८२

इटहरी : सुनसरीको वराहक्षेत्र नगरपालिकाले फेरि पनि जिल्लामा उत्कृष्ठ स्थान कायम गरेको छ ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) नतिजामा वराहक्षेत्रले लगातार तेस्रो वर्ष पनि सुनसरीकै उत्कृष्ट पालिका बन्ने गौरव हासिल गरेको हो ।

सुनसरीकै कान्छो नगरपालिका मानिएको वराहक्षेत्रले यसपटक १०० पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गर्दै जिल्लाभरका उपमहानगरपालिका, नगरपालिकादेखि गाउँपालिकासम्मलाई पछि पार्दै पहिलो स्थान ओगटेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालका अनुसार वराहक्षेत्रले जिल्लामात्र होइन, कोशी प्रदेशभरका १३६ स्थानीय तहमध्ये पाँचौँ उत्कृष्ट पालिका बन्न सफल भएको छ ।

प्रदेशस्तरमा ९०.५० अङ्कसहित इलामको सूर्योदय नगरपालिका पहिलो, ९० अङ्कसहित इलाम नगरपालिका दोस्रो, ८७.२५ अङ्कसहित विराटनगर महानगरपालिका तेस्रो, ८६.५० अङ्कसहित खोटाङको हलेसी तुवाचुङ नगरपालिका चौथो र ८६ अङ्कसहित झापाको कनकाई नगरपालिका पाँचौँ स्थानमा परेका छन् ।

सुनसरीमा भने वराहक्षेत्रपछि भोक्राहा गाउँपालिकाले ८०.५० अङ्क, दुहबी नगरपालिकाले ८०.२५ अङ्क, इटहरी उपमहानगरपालिकाले ८० अङ्क, धरान उपमहानगरपालिकाले ७७.५० अङ्क, हरिनगर गाउँपालिकाले ७३ अङ्क, इनरुवा नगरपालिकाले ७१.२५ अङ्क, गढी गाउँपालिकाले ७१ अङ्क, बर्जू गाउँपालिकाले ६८.५० अङ्क, कोशी गाउँपालिकाले ६४ अङ्क, देवानगञ्ज गाउँपालिकाले ५६ अङ्क र रामधुनी नगरपालिकाले ५३.५० अङ्क प्राप्त गरेका छन् ।

सङ्घीय सरकारले हरेक वर्ष स्थानीय तहलाई अनुदान विनियोजन गर्न गर्ने संस्थागत क्षमता स्वमूल्याङ्कनमा वराहक्षेत्रले लगातार तीन वर्षदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

मूल्याङ्कनका १० वटा मुख्य विषयगत सूचकहरूमा उच्च अङ्क प्राप्त गर्न सफल वराहक्षेत्रले पुनः प्रभावकारी र परिणाममुखी पालिका भएको प्रमाणित गरेको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार