रूबी हत्या प्रकरण: जलेका मुख्य आरोपीलाई उपचारका लागि कीर्तिपुर पठाइयो

बुधबार, ११ भदौ २०८२

काठमाडौँ । रौतहटमा  रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ ।

प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि  कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचामा पासवान आफैंले डिजेल खन्याई शरीरमा आगो लगाएका थिए । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी तुरुन्तै अस्पताल पुर्‍याएको थियो । प्रहरी स्रोतका अनुसार उनको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ ।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो । सुटकेस डोरीले बाँधिएको अवस्थामा भेटिएकोले यसलाई योजनाबद्ध हत्या ठानिएको थियो । अनुसन्धानबाट प्रारम्भिक रूपमा खुलेको तथ्यअनुसार, पासवानले गौरस्थित डेरामा रुबीको हत्या गरी शव सुटकेसमा राखेर इ–रिक्सामा लैजान खोजेका थिए । तर, रिक्सामा समस्या आएपछि सुटकेस त्यही छाडेर भागेका थिए । प्रहरीले अनुसन्धानका क्रममा ५०० रुपैयाँ भाडामा संलग्न रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पासवानमाथि शंका पुष्टि भएको हो ।

प्रहरीका अनुसार लक्ष्मण पासवान रुबीप्रति अत्यधिक आसक्त थिए । उनले आफ्नो हात, छातीलगायत शरीरका विभिन्न भागमा ‘रुबि कुमारी’ लेखिएका ट्याटु खोपेका थिए । प्रहरीले यसलाई प्रेमप्रेरित हत्याको रुपमा लिएको छ ।

पारिवारिक विवादका कारण केही महिना यता रुबी गौरमै भाडाको कोठामा बस्दै आएकी थिइन् ।

प्रहरीले मुख्य आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाए पनि घटना किन र कसरी भयो भन्ने सम्पूर्ण पृष्ठभूमि अझै स्पष्ट हुन बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार