काठमाडौँ । हमास निमिट्यान पार्ने भन्ने अभियानमा लागेको इजरायलले अहिलेसम्म १९२ पत्रकारको हत्या गरेको छ ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार बितेका २२ महिना लामो इजरायल–हमास युद्धमा कम्तीमा १९२ पत्रकार मारिएका छन्, जसमध्ये १८९ प्यालेस्टाइनी मात्रै रहेका छन् ।
इजरायलले सोमबार गाजाको एक अस्पतालमा हवाई आक्रमण गरेको थियो, सो आक्रमणमा ५ पत्रकारसहित २० जनाको मृत्यु भएको थियो । सो अस्पतालमा लगातार दुई हमला भएको थियो, जसमा पत्रकारहरूले आक्रमणको कभरेज गरिरहेका देख्दा देख्दै इजरायलले सो हमला गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतले सो घटनाको आलोचना गरे पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनालाई दुःखद दुर्घटना भन्दै माफी मागेका छन् ।
नेतान्याहुले इजरायलले पत्रकार, चिकित्साकर्मी र सबै नागरिकको कामको कदर गरेको र सेनाले घटनाको अनुसन्धान गरिरहेको जिकिर गरेका छन् ।
साथै, इजरायली सेनाले पनि आफ्नो गल्ती स्वीकार गरेको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एफी डेफ्रिनले भने, ‘हामीलाई यो घटनाबारे जानकारी छ । आइडीएफले जानाजानी नागरिकहरूलाई लक्षित गर्दैन ।’
इजरायलले दाबी गरे पनि अहिलेसम्म संयुक्त राष्ट्रसंघका अनुसार गाजामा इजरायली हमलामा चिकित्सा पेशासँग सम्बन्धित १ हजार ५ सयभन्दा बढी व्यक्तिको हत्या गरिएको छ ।
प्रतिक्रिया