मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र श्रम क्षेत्रमा सहकार्यको जोड

बुधबार, ११ भदौ २०८२

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रताको चर्चा गर्दै यसलाई अझ प्रगाढ बनाउनुपर्ने धारणा राखे। कृषि, श्रम–रोजगार र स्वास्थ्य क्षेत्रलाई दुई देशबीच सहकार्यका प्रमुख आधारका रूपमा लिँदै उनले नेपालीहरू मुख्यतः कृषि र केयरगिभर क्षेत्रमा इजरायलमा कार्यरत रहेको र यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए।

नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै उनले कोशी प्रदेश पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारे। इजरायलले आधुनिक कृषि प्रविधिबाट गरेको प्रगतिप्रति प्रशंसा गर्दै उनले कृषि उत्पादनका लागि प्रचुर सम्भावना बोकेको कोशी प्रदेश कृषिमा उद्यमशीलता विकासका लागि युवालाई ब्याज अनुदानमार्फत प्रोत्साहित गरिरहेको जानकारी दिए।

कृषकलाई शैक्षिक तथा व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिमार्फत प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले इजरायल सरकारमार्फत नेपाली युवा बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरे। साथै, मनमोहन प्राविधिक विश्वविद्यालय, गौरादह कृषि क्याम्पससहित प्रदेशका कृषि शिक्षण संस्थासँग सहकार्य गर्न पनि उनले आह्वान गरे।

त्यस अवसरमा राजदूत श्मुलिक आरि बासले नेपाल–इजरायल सम्बन्ध अत्यन्तै पुरानो र गाढा रहेको उल्लेख गर्दै पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नै सम्बन्ध सुमधुर रहेको बताए। उनले केयरगिभर र कृषि क्षेत्रमा इजरायलमा अवसर रहेको उल्लेख गर्दै त्यसतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाव दिए।

नेपालमा ५० प्रतिशतभन्दा बढी जनशक्ति कृषि क्षेत्रमा संलग्न भए पनि सोअनुसारको प्रगति हासिल नभएको र इजरायलमा थोरै जनसंख्या कृषि क्षेत्रमा संलग्न भएर समेत उल्लेख्य प्रगति गरेको उदाहरण प्रस्तुत गर्दै उनले कृषि क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार