संवैधानिक इजलास गठनमा नयाँ अभ्यास, प्रधानन्यायाधीश राउतले राखे आफ्नो चाहनाका न्यायाधीश

बुधबार, ११ भदौ २०८२

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा नयाँ अभ्यास सुरु गरेका छन्। उनले आफूले चाहेका न्यायाधीशलाई राखेर बुधबार संवैधानिक इजलास गठन गरेका छन्।

प्रधानन्यायाधीश राउतले आफूसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा रहने गरी संवैधानिक इजलास गठन गरेका हुन्। श्रेष्ठ र शर्मा प्रधानन्यायाधीश राउत पक्षका हुन्।

यसअघिका प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्दै आएका थिए।

प्रधानन्यायाधीश राउतले संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताएका छन्। उनले पत्रकार सम्मेलन गरी संवैधानिक यजलास गठनमा कुनै विवाद नरहेको र आफूले संविधानले दिएको अधिकार प्रयोग गरी इजलासमा रहने न्यायाधीश छानेको बताए।

‘संवैधानिक इजलास गठनमा कुनै विवाद थिएन। न्यायाधीश नियुक्ति, सरुवालगायतको जरुरी कामका कारणले संवैधानिक इजलास राख्न नसकिएको हो,’ प्रधानन्यायाधीश राउतले भने, ‘संवैधानिक इजलास गठन गर्न संविधानले नै प्रधान न्यायाधीशलाई अधिकार दिएको छ। त्यही अधिकार प्रयोग गरेर मैले इजलास गठन गरेको हुँ।’

संविधानको धारा १३७ को संवैधानिक इजलास गठनसम्बन्धी व्यवस्था छ। इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेको अन्य चार जना न्यायाधीश रहने भनिएको छ।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको फैसला सुनाउने क्रममा आफू अल्पमतमा परेपछि प्रधानन्यायाधीश राउतले असार १८ पछि संवैधानिक इजलास राखेका थिएनन्। असार १८ गते संवैधानिक इजलासले चार वर्षअघिको नियुक्ति सदर गरिदिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार