इटहरी : इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जेनजी आन्दोलनका क्रममा इटहरीमा ज्यान गुमाउने प्रती गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले निशुल्क उपचारको व्यवस्था गर्न संघीय सरकारसँग अनुरोध गरेका छन् ।
सोमबार इटहरीमा भएको प्रदर्शन हिंसात्मक रुप लिँदै अराजक गतिविधिमा परिणत भएकोप्रति नगरप्रमुख पौडेलले गम्भीर आपत्ति जनाएका छन् । आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा, नगर कार्यपालिकाको कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेर सरकारी सम्पत्तिमा क्षति पु¥याएको उल्लेख गर्दै उनले ती गतिविधिको घोर भर्त्सना गरेका छन् ।
नगरप्रमुख पौडेलले सरकारी सम्पत्ति र सवारी साधनमा भएको क्षतिको मूल्याङ्कन गरी अराजक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । साथै, आन्दोलनकारीलाई संयमता अपनाउन तथा राज्य पक्षलाई समेत धैर्यतापूर्वक परिस्थिति सामना गर्न आग्रह गरेका छन् ।
परिस्थिति नियन्त्रणमा ल्याउन भन्दै इटहरी उपमहानगरपालिकाले नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, इटहरी अस्पताल बाहेकका अन्य स्वास्थ्य संस्था र अत्यावश्यक बाहेकका सेवामा भदौ २४ देखि २६ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया