झापा : पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति(एसियन हाइवे) गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र विर्तामोडको चारपाने क्षेत्रमा ओभरपास निर्माण थालिएको हो ।
सरकारले एसियाली विकास बैंकको सहयोगमा पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । झापाको काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटरमा ठेक्कामार्फत निर्माण तीव्र गतिमा भइरहेको हो ।
यातायातको बढी चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण गर्ने योजना रहेको काँकरभिट्टा–लौकही सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख एवं इञ्जिनियर सुनिलबाबु पन्तले बताए । चारआलीमा चोकबाट पूर्वतर्फ दुई सय ५१ मिटर र पश्चिमतर्फ दुई सय २६ मिटरतर्फ ओभरपास निर्माण भइरहेको जानकारी दिए ।
चारपानेमा चोकबाट पूर्वतर्फ दुई सय सात मिटर र पश्चिमतर्फ तीन सय आठ मिटर ओभरपास निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । विर्तामोडमा ओभरपास बनाउने योजना भए पनि हालसम्म निर्माण सुरु भएको छैन ।
विर्तामोडको मुक्ति चोकबाट पूर्वतर्फ दुई सय मिटर र पश्चिमतर्फ तीन सय ९० मिटर ओभरपास निर्माणको लक्ष्य रहेको छ । “चारआली र चारपानेमा ओभरपासका लागि यातायात सहजताका लागि डाइभर्सन बनाएर बेस बनाउन थालिएको हो”, इञ्जिनियर पन्तले भनेका छन् ।
पूर्वीखण्डको काँकडभिट्टा–केर्खा खण्डको ४५ किलोमिटर निर्माणसम्बन्धी ठेक्का इभरस्कोन कालिका जेभीले १० अर्ब छ करोडमा लिएको छ । यस खण्डमा तीन सय मिटरभन्दा साना १८ वटा र ठूला तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् भने एक सय ४० वटा कल्भर्ट निर्माण गरिने इञ्जिनियर पन्तले जानकारी दिए ।
काँकडभिट्टाबाट केर्खासम्मको पूर्वी खण्ड हेर्नका लागि दमकमा र केर्खाबाट इटहरीसम्मको पश्चिमी खण्डको निर्माण हेर्नका लागि इटहरीमा कार्यालय रहेका छन् । काँकडभिट्टाबाट इटहरीसम्मको १० स्थानमा ओभरपास निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।
प्रतिक्रिया