काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहार र छठलाई लक्षित गर्दै व्यापक सुरक्षा योजना सार्वजनिक गरेको छ । परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गरिने परिसरले जनाएको छ ।
प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन चार प्रकारका रणनीति तयार गरिएको छ । यसअनुसार ९१ स्थानमा पिकेट ड्युटीका लागि ३६४ जना प्रहरी खटाइनेछन् ।
उपत्यकाभित्र हाल बल्खु, कलङ्की र नयाँ बसपार्कमा सञ्चालन भइरहेको नागरिक सहायता कक्षलाई १४ स्थानसम्म विस्तार गरिनेछ । त्यहाँ ७२ जना प्रहरी खटाइने जनाइएको छ । साथै उपत्यकालाई १४ एरियामा विभाजन गरी सुरक्षात्मक निगरानी बढाइने योजना छ ।
पूजापाठ हुने स्थान, टिकट बिक्री केन्द्र, खसी बोका व्यापार स्थल, सपिङ मल, सुनचाँदी पसल जस्ता भीड हुने स्थानमा विशेष सुरक्षा दिने र सादा पोसाकमा प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।
चोरी, पकेटमारी, लुटपाट, कुटपिट जस्ता घटनाबाट जनतालाई जोगाउन क्यूआरटी टोली, मोबाइल टोली र मोटरसाइकल क्यूआरटी टोली परिचालित हुनेछन् ।
यसैगरी दसैँमा लामो समयसम्म घर छाड्नेलाई आफ्नो घर नजिकैको प्रहरी वा विश्वासिला व्यक्तिलाई खबर गरेर जान अनुरोध गरिएको छ । प्रहरी योजनामा घरको सुरक्षा सुनिश्चित गर्ने व्यवस्था समेत समावेश गरिएको छ ।
प्रतिक्रिया