स्कुटर दुर्घटनामा परि इटहरी इन्टरनेशनल कलेजमा कार्यरत भण्डारीको मृत्यु

आइतबार, ०५ असोज २०८२

मोरङ : मोरङको विराटनगर–४ दूध फार्म अगाडि कोशी लोकमार्गमा शनिवार साँझ भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

विराटनगर बरगाछीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश–१–०१–०१५ प २१९७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

ठक्करपछि स्कुटर डिभाइडरमा ठोक्किँदा चालक गम्भीर घाइते भएका थिए।

घाइते चालक सर्लाही नेत्रगञ्ज गाउँपालिका–७ घर भई हाल मोरङ सुन्दरहरैंचा–४ बस्ने ३० वर्षीय प्रदीप बहादुर भण्डारीलाई तत्काल उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्‍याइएको थियो। तर चिकित्सकले साँझ ७:२० बजे उनलाई मृत घोषणा गरेका हुन्।

भण्डारी विगत ६ वर्षदेखि मोरङको दुलारीस्थित इटहरी इन्टरनेशनल कलेजमा स्टुडेन्ट सर्भिस शाखामा कार्यरत थिए।

दुर्घटनापछि शव अस्पतालमै राखिएको छ। यता, प्रहरी नायब निरीक्षक आवेश थापाको कमाण्डमा खटिएको टोलीले दुर्घटनामा संलग्न सिटी सफारीको खोजतलास तीव्र पारेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार