काठमाडौँ । रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ ।
भदौ ३० गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँच पास गरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ । साथै नेपाल राष्ट्र बैङ्कको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ ।
सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापारमा निरन्तरता दिन थालेको हो ।
प्रतिक्रिया