काठमाडौं : जेन–जेड, वाई र एक्स उमेर समूहका अगुवाहरूले संयुक्त रूपमा जेन–जेड–वाई–एक्स नेपाल समिति गठन गरेका छन् । समितिको संयोजकमा युवराज सफल चयन भएका छन् ।
आइतबार काठमाडौंको रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा संयोजक सफलले समितिको घोषणा गर्दै तीन पुस्ताको साझा पहलमार्फत मात्र देशले निकास पाउने धारणा राखे ।
उनले भने, “जेन–जेड पुस्ताको मागप्रति मेरो र हाम्रो पुस्ताको प्रतिवद्धता छ । त्यसैले जेन–जेड पुस्तासहित वाई र एक्स पुस्तालाई समेटेर मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । जेन–जेड १३ देखि २८ वर्षसम्मका हुन्छन् भने २८ वर्षभन्दा माथि ४५ वर्षभन्दा तलका पनि हाम्रो अभियानमा महत्त्वपूर्ण छन् ।”
तीन पुस्ताको सहकार्यलाई अनिवार्य ठहर गर्दै सफलले थपे, “देशका लागि गर्न चाहनेहरू छन् । त्यसैले यो तीन पुस्ता मिलेर मात्र देश बन्न सक्छ । यही विश्वासका साथ आज हामीले जेन–जेड–वाई–एक्स नेपालको केन्द्रीय समिति घोषणा गरेका हौं ।”
उनका अनुसार प्रारम्भिक रूपमा ५ देखि ७ सदस्यीय निर्देशक समिति गठन गरिनेछ । निर्देशक समितिले आवश्यक समन्वय गरेर जेन–जेडसँग वार्ता गर्ने, वाई र एक्स पुस्तासँग पनि संवाद बढाउने र अन्ततः राष्ट्रिय सहमति बनाएरै देशलाई निकास दिलाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया