इनरुवा : विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालतले दशैं अवधिमा पनि न्यायिक कामकाज अवरुद्ध नहुने गरी विशेष व्यवस्था गर्ने भएको छ ।
अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक्रिया भने निरन्तर चल्नेछ ।
अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाका अनुसार पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमती दिने, साथै गैरकानुनी थुनामा रहेका बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) जस्ता कार्य अवरुद्ध नहुने छन् ।
यस अवधिमा शनिबार, घटस्थापना, दशैंको मुख्य दिन विजयादशमी तथा कोजागत पूर्णिमाबाहेक प्रत्येक दिन अदालत बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुने अदालतले जनाएको छ । अदालतले सार्वजनिक सूचना जारी गर्दै सो समयमा सेवा आवश्यक पर्ने पक्षलाई उपस्थित हुन आग्रह गरेको छ ।
राणाका अनुसार दशैंजस्तो ठूलो चाडपर्वमा अदालत पूर्ण रूपमा बन्द हुँदा थुनुवामा रहेका अभियुक्तहरूको हकहित प्रभावित हुनसक्ने भएकाले विशेष व्यवस्था गरिएको हो ।
प्रतिक्रिया