तातो हावा फालेपछि ‘कुल बुट’ मा राखेको किवी सड्यो, किसानको लाखौँको लगानी स्वाहा

सोमबार, ०६ असोज २०८२

विजयशेखर भट्टराई

इलाम : माइजोगमाई–५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रबाट दश लाख रुपैयाँ अनुदान प्राप्त गरी शीत भण्डार गृह (कुल बुट) निर्माण गरे ।

आफ्नै बुढाथोकी कृषि तथा पशुपक्षी फार्ममार्फत थप तीन लाख ३४ हजार रुपैयाँ लगानी गरेर उनले कुल बुट सञ्चालन गरी किवी भण्डारण गर्ने योजना बनाएका थिए ।

२०७९ साल चैत्रमा बनेको कुल बुटमा आफ्नै बारीमा उत्पादन भएको किवी मात्र नभई गाउँका अन्य किसानको पनि किवी राखिएको थियो । तर लाखौँको लगानीमा बनेको उक्त कुल बुटमा मेसिनले चिसो हावा फाल्नुपर्ने ठाउँमा तातो हावा फाल्न थालेपछि भण्डारण गरिएको किवी बिग्रियो ।

फर्मकी रुपा बुढाथोकीका अनुसार बिग्रन थालेपछि किवीहरू कोसेलीका रूपमा बाँडेर सक्नुपर्‍यो । अपेक्षित आम्दानी नभएपछि र कुल बुटमा थप लगानी डुबेपछि जीवन बुढाथोकी हाल वैदेशिक रोजगारीमा गएका छन् ।

निर्माण भएको सुरुमै सञ्चालनमा कठिनाइ देखिएको कुल बुट एक पटक निर्माण कम्पनीमार्फत मर्मत गराइएको थियो । तर मर्मतपछि झन् बिग्रिएर अहिले बेवारिसे अवस्थामा पुगेको बुढाथोकीले बताए ।

इलामका दर्जनभन्दा बढी अगुवा किसानले अनुदान सहयोगमा यस्ता कुल बुट बनाएका छन् तर अधिकांश सञ्चालन हुन सकेका छैनन् । केही मर्मतपश्चात् चले पनि किवी राख्दा बिग्रने समस्या कायम रहेको किसानहरूको गुनासो छ ।

इलामका किवी उत्पादक किसानहरूले कृषि ज्ञान केन्द्र र किवी जोन परियोजना मार्फत अनुदानमा कुल बुट बनाएका हुन् । जिल्लाभर करिब १२ वटा कुल बुटमध्ये आधाभन्दा कम मात्रै सञ्चालनमा छन् । निर्माण कम्पनीको लापरबाहीका कारण लाखौँको लगानीमा बनेका भण्डार प्रयोगविहीन बनेको किसानको आरोप छ । किवी फलको सिजन सुरु भए पनि भण्डारण गर्न नसक्दा किसान मारमा परेका छन् ।

इलाम–५ का किसान महानन्द ओझाले पनि अनुदानमै कुल बुट निर्माण गरेका थिए । तर किवीको खस्कँदो बजार र भण्डारण सुविधाको अभावका कारण बगान नै मासिएको उनको भनाइ छ ।

उनले पटक–पटक मर्मतका लागि आग्रह गरे पनि कुल बुट सञ्चालनमा नआएको बताए । सन्दकपुर गाउँपालिकामा स्थापना गर्ने भनिएको कुल बुट पनि हालसम्म प्रयोगमा आउन सकेको छैन । जडान गरिएका उपकरणहरू कार्यालयमै अलपत्र अवस्थामा छन् ।

परियोजना र कृषि ज्ञान केन्द्र दुवैले रिदम एन्ड रिभर्स बिल्डर्सलाई कुल बुट निर्माणको जिम्मा दिएका थिए । तर कम्पनीले किसानसँग ‘कोदाली भेन्चर’ नाममार्फत सम्झौता गरेको खुलेको छ । कम्पनीका गौरव दासका अनुसार किसानको अनुरोधमा मर्मत गर्न पटक–पटक आएका छन् र हाल पनि एक कर्मचारी इलाममै खटिएको छ । तर किसानले भने कम्पनीले पुरानो सामग्री जडान गरेको र मर्मतमा आलटाल गरेको आरोप लगाएका छन् ।

यता, तत्कालीन किवी जोन परियोजनाको अवधि सकिएर हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनमा आएको छ । परियोजनाका संयोजक रहेका गङ्गा विष्टले आफ्नै कुल बुटमा पनि पहिले पुरानो सामान जडान भएकाले पछि नयाँ उपकरण जडान गरी सञ्चालनमा ल्याउनुपरेको बताए । उनले गाउँमा विद्युत् आपूर्ति नियमित नभएकाले पनि सञ्चालनमा समस्या आउने बताएका छन् ।

माइजोगमाईका टेकबहादुर खड्काले पटक–पटक समस्या देखिएको जानकारी दिए पनि कम्पनीले बेवास्ता गरेको बताए । सन्दकपुर–३ तालगाउँका किसान रुद्र खतिवडाले पहिलो वर्ष कुल बुट सञ्चालन भएको तर पछिल्लो वर्ष प्रयोग नभएको बताए । कम्पनीले नयाँ सामग्री जडान गर्ने आश्वासन दिएको तर अहिलेसम्म कार्यान्वयन नभएको उनको भनाइ छ ।

किसानका अनुसार जतनपूर्वक भण्डारण गर्न सके कुल बुटमा तीन महिनासम्म किवी राख्न सकिने भए पनि सञ्चालनमा नआउँदा किसानहरू घाटामा परिरहेका छन् । इलाममा ठूलो परिमाणमा किवी उत्पादन भए पनि भण्डारण नहुँदा बजारमा उचित मूल्य नपाउने समस्या तीव्र बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार