चार महिनाभित्र भाटभटेनीलाई उभ्याउने मीनबहादुर गुरुङको अठोट

आइतबार, ०५ असोज २०८२

काठमाडौँ : हालैको जेनजी आन्दोलनले मुलुकभर विनाशकारी असर पुर्‍यायो । त्यस क्रममा भाटभटेनी सुपरमार्केट सबैभन्दा ठूलो नोक्सानी व्यहोर्ने क्षेत्रमा पर्न पुग्यो ।

आन्दोलनकारीले देशभरका १५ शाखा आगजनी गरी खरानी बनाए भने ४ शाखामा तोडफोड मच्चाए । प्रारम्भिक अनुमानअनुसार करिब १०.८५ अर्बदेखि १५ अर्ब रुपैयाँसम्मको क्षति भएको छ ।

तर, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ भने निराश छैनन् । आइतबार नक्सालस्थित पूर्ण रूपमा ध्वस्त शाखा अवलोकन गर्दै उनले ४ महिनाभित्रै पुनर्निर्माण गर्ने प्रतिज्ञा गरे ।

उनका अनुसार, हजारौँ कर्मचारी र परिवारको भविष्य भाटभटेनीसँग जोडिएको हुँदा आफैँ कमजोर नबन्ने दृढ निश्चय गरेका छन् ।

‘नेपाल गोर्खालीको देश हो, हामी लडेर पनि उठ्छौँ,’ भन्दै भावुक बनेका गुरुङले आंशिक क्षति भएका शाखाहरू भदौ २५ देखि नै सञ्चालनमा ल्याएको जानकारी दिए ।

कोटेश्वर, महाराजगन्ज र नक्साल शाखामा तीव्र गतिमा पुनर्निर्माण भइरहेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँगको भेटमा सरकारले सुरक्षादेखि सहयोगसम्मको आश्वासन दिएको गुरुङले बताए ।

‘नेपाल सुरक्षित छ, इमान्दारीसाथ श्रम गरे १५ वर्षमा यो देश संसारकै सुन्दर हुन्छ,’ उनले भविष्यप्रति आशावादी दृष्टि राख्दै भने ।

नागरिकको सहानुभूति नै आफूलाई उठ्न बल दिने आधार भएको बताउँदै गुरुङले भाटभटेनीलाई फेरि उठाउने अठोट व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार