काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको नामावली धमाधम सार्वजनिक हुने क्रममा छ । निर्वाचन आयोगमा सोमबार रातिसम्म समानुपातिकतर्फ बन्दसूची बुझाएका दल र तिनका उम्मेदवारको नामावलीले समानुपातिक प्रणाली र व्यवस्थाकै ‘बदनाम’ गरेको देखिएको छ ।
जातीय, लैङ्गिक तथा भौगोलिक हिसाबले पछाडि पारिएका वर्ग र समुदायका लागि व्यवस्था गरिएको आरक्षण र समानुपातिक प्रतिनिधित्वको प्रणालीमा पहुँचवाला र चर्चित व्यक्तिको हालीमुहाली बढ्दै जाँदा व्यवस्थाकै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरिन थालिएको छ ।
गणतन्त्र, समावेशिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने संविधानको भावनाको धज्जी उडाउँदै व्यापारी, सेलेब्रिटीदेखि नेताका आफन्त र आसेपासे सम्भावित सांसदको सूचीमा परेका छन् । समानुपातिक प्रणाली लागू भएयता तेस्रो निर्वाचन हुँदै गर्दा यस हदसम्मको दुरुपयोगले व्यवस्थाकै बदनाम भएको विश्लेषकहरूको टिप्पणी छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी र राप्रपालगायत दलले विगतमा समानुपातिक प्रणालीमार्फत संसद्मा गराएको उपस्थिति विषयमा आलोचना गर्दै आएका नयाँ राजनीतिक दलबाट पनि उस्तै विकृति र विसङ्गतिलाई प्रश्रय दिइएको भन्दै व्यापक टिप्पणी भएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा ६४ राजनीतिक दलले ५८ चुनाव चिह्नमार्फत समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने भएका छन् । तोकिएको पुस १३ र १४ गतेको अवधिमा आयोगमा पेस भएका सूची अन्तिम तयारीमा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये १ सय १० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।
लैङ्गिक, जातीय तथा क्षेत्रीय रूपमा पिछडिएको कोटामा नेताले आफन्तको लाइन लगाएको यसपटक पनि देखिएको छ । पुराना दलले समानुपातिकका नाममा विकृति भित्र्याएको आरोप लगाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि नेताका आफन्त र निकटस्थ व्यक्तिलाई समानुपातिक सूचीमा समेटेको भन्दै आलोचना भइरहेको छ ।
समानुपातिक सूची बुझाउने दिन सोमबार साँझ मात्र सम्झौता गरी रास्वपामा मिसिएका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले आफ्ना भान्जादेखि ससुरा तथा ससुरालीतर्फका आफन्तको नाम सूचीमा समेटेको आरोप लागेको छ ।
घिसिङले साबिक पार्टीका कुनै पनि संयन्त्रमा छलफल नगरी एकल तजबिजमा नाम छनोट गरेको भन्दै उनका भान्जा राम लामा पहिलो नम्बरमा परेका छन् ।
जनजाति क्लस्टरमा परेका धर्मलाल तामाङ घिसिङका ससुरालीतर्फका आफन्त हुन् । ‘कहिले माओवादी, कहिले एकीकृत समाजवादी’मा संलग्न हुँदै घिसिङसँग व्यावसायिक साझेदारी गरेका दुर्गाबहादुर सुवेदीलाई पनि व्यक्तिगत प्रभावका आधारमा समेटिएको बताइन्छ ।
रास्वपा सभापति रवि लामिछानेले पनि दलित, जनजाति, खसआर्यलगायत सबै क्लस्टरमा चितवनका आफ्ना निकट व्यक्तिलाई मात्र प्राथमिकता दिएको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।
दलित भएकै कारण हेपिएकालाई संसद्मा प्रतिनिधित्व गराउने उद्देश्यका लागि बनाइएको समानुपातिक व्यवस्थामा सेलेब्रिटी र व्यवसायीलाई समेटिएको भन्दै आलोचना भइरहेको छ । चर्चित गायक प्रकाश सपुतदेखि टेलिभिजन होस्ट रिमा विश्वकर्मालाई ‘दलित कोटा’बाट समानुपातिक सूचीमा राखिएको छ । विभिन्न दातृ निकायका परियोजना सञ्चालक तथा पूर्वपत्रकार प्रकाशचन्द्र परियारसमेत सूचीमा समेटिएका छन् ।
सामाजिक सञ्जालमा धेरै फलोअर भएका तथा ‘मास म्यानिपुलेसन’ गर्न सक्ने मोटिभेसनल स्पिकरलाई समेत रास्वपाले समानुपातिक सूचीमा राखेको देखिन्छ । उत्पीडित जनजाति क्लस्टरबाट क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि आईएनजीओमा आबद्ध व्यक्तिसमेत समेटिएका छन् ।
त्यस्तै, व्यापारी व्यवसायीलाई पनि विशेष प्राथमिकता दिइएको पाइएको छ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालदेखि गोल्डस्टार जुत्ता उत्पादन कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा समानुपातिक सूचीमा परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट ९ महिलासहित २१ जना समानुपातिक सूचीमा परेका छन् । सभापतिको जिल्लाबाट यति धेरै नाम समावेश भएपछि दुर्गम जिल्लाका पार्टी नेता–कार्यकर्ता आश्चर्यचकित भएका छन् ।
तीन समूहमा गरी १ सय १० जनाको नामावली बुझाएको रास्वपाले चितवनकै २१ जनालाई सूचीमा समेटेको हो । आदिवासी जनजातितर्फ ५ र खसआर्यतर्फ १६ जनाको नाम समावेश छ ।
नेताका छोराछोरीलाई समानुपातिकदेखि सुविधामा पहुँच दिने प्रवृत्तिले ‘नेपो बेबी ट्रेन्ड’बाट कसैले पनि पाठ नसिकेको सङ्केत देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल पोखरेल र पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवलाई समानुपातिक सूचीमा राखिएको छ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालले पनि समानुपातिकतर्फ अवसर पाएका छन् ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट ९ जनालाई समानुपातिक सूचीमा समेटेको छ । झापाबाट मेनुका काफ्ले, अनिता कन्दङ्वा, निता घतानी, निर्मला पाठक, विद्यानन्द राजवंशी, सोम पोर्तेल, विनाकुमारी शाह, लता प्रसाईँ र जितु गौतम दर्जी समानुपातिक उम्मेदवार बनेका छन् ।
समानुपातिक प्रणालीतर्फ पुराना भनिएका दलले भने नयाँलाई अवसर दिएको दाबी गरेका छन् । नेपाली काँग्रेसले तीन–चार जना चर्चित नेताबाहेक नयाँलाई अवसर दिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
काँग्रेसले २०६४ देखि २०७९ सालसम्म समानुपातिकमा नपरेका व्यक्तिलाई यसपटक समेटिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिक सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया