काठमाडौँ : नेपाल वायुसेवा निगम (NAC) का कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध गम्भीर अनियमितताको आरोप लगाउँदै प्रधानमन्त्रीको सचिवालयमा दर्ता भएको निवेदनले चर्को तरङ्ग ल्याएको छ।
निवेदनमा उनलाई तत्काल पक्राउ गरी छानबिन थाल्नुपर्ने माग गरिएको छ।
अधिकारीमाथि वाइडबडी जहाजको इन्जिन मर्मतदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री, GSA (Global Sales Agent) नियुक्ति, अनावश्यक नियुक्ति प्रक्रिया र गोप्य सम्झौतासम्मका विषयमा गम्भीर भ्रष्टाचार र अनियमितताका आरोपहरू लगाइएको छन्।
निवेदनका अनुसार वाइडबडी जहाज इन्जिन मर्मत गर्दा अनिवार्य टेन्डर प्रक्रिया नअपनाई निजी तहमा गोप्य सम्झौता गरिएको छ।
यसलाई सार्वजनिक खरिद ऐनको ठाडो उल्लङ्घन मानिएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय टिकट बिक्री प्रक्रियामा केही ट्राभल एजेन्टहरूसँग मिलेर अर्बौँको कमिसन घोटाला भएको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय टिकट बिक्रेताको रूपमा GSA नियुक्त गर्दा पारदर्शिता नअपनाई करोडौँको गडबडी भएको आरोप पनि निवेदनमा छ। निगममा आवश्यकता नभएका ठाउँमा अनावश्यक नियुक्ति गरी प्रशासनिक खर्च बढाएको विषयसमेत उजागर गरिएको छ।
यी सबै आरोपहरू विगतका विवादित घटनासँग पनि जोडिएका छन्। वाइडबडी जहाज खरिदमा टेन्डर उल्लङ्घन र लागत बढाइएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले फेला पारेको तथ्य सार्वजनिक भइसकेको छ।
त्यस्तै,अन्तर्राष्ट्रिय कम्पनी AAR Corp ले नेपालमा घुस दिन थालेको र त्यससम्बन्धी मुद्दा अमेरिकामा समेत दर्ता भएको जानकारी पहिले नै सार्वजनिक भइसकेको छ।
निवेदकहरूले युवराज अधिकारीलाई तत्काल पक्राउ गरी अनुसन्धान सुरु गर्न, टेन्डर दस्ताबेजदेखि टिकट बिक्रीका डेटा सार्वजनिक गर्न, स्वतन्त्र छानबिन समिति गठन गर्न र दोषी साबित भए कारबाही र क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।
स्रोतका अनुसार अधिकारीले अवकाश पाइसकेका कर्मचारीहरूलाई समेत करारमा राखेर कमिसन लिँदै दर्जनौँलाई जागिर दिइरहेको समेत आरोप लागेको छ ।
प्रतिक्रिया