‘जेनजी आन्दोलन’ : हालसम्मकै उच्च बिमा दाबी, कस्तो हुन्छ भुक्तानी प्रक्रिया ?

मंगलबार, ०७ असोज २०८२

काठमाडौँ : ‘जेनजी आन्दोलन’ का क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिले बिमा क्षेत्रको इतिहासमै ठुलो दाबी परेको छ ।

सङ्घीय राजधानी काठमाडौँसँगै देशव्यापी रूपमा भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा भएको तोडफोड र आगजनीबाट उत्पन्न क्षतिको बिमा दाबी इतिहासकै सर्वाधिक भएको हो । 

नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म दुई हजार ४७८ वटा बिमा दाबी दर्ता भई जम्मा २२ अर्ब २५ करोड ६५ लाख रुपियाँ बराबरको दाबी आएको छ । यस्तो दाबी बढ्ने क्रम जारी छ ।

यसअघि २०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिमा साढे १७ हजार बिमाको १७ अर्ब ६५ करोड रुपियाँको बिमा दाबी परेको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले अहिलेको बिमा दाबी अझै बढ्ने तर यत्ति नै बढ्छ भनेर प्रक्षेपण गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार बिमा दाबी आउने क्रम जारी छ । सञ्चालनमा रहेका १४ वटा निर्जीवन कम्पनी र चार वटा निर्जीवन माइक्रो इन्स्योरेन्स कम्पनीमा क्षतिको बिमा दाबी परेको छ ।

आन्दोलनकारीले सरकारी निकायका धेरै पूर्वाधार र निजी क्षेत्रका धेरै व्यापारिक संरचना, होटेल, सोरुम, सुपरमार्केट, सञ्चारगृह, उद्योग गोदामदेखि निजी सवारी, निजी प्रयोजनका निवासलगायतलाई ध्वस्त बनाएका थिए । 

सर्वाधिक दाबी ओरियन्टलमा

बिमा दाबी पर्नेमा दी ओरियन्टल इन्स्योरेन्स अगाडि छ । ओरियन्टलमा ७३ वटा बिमाको पाँच अर्ब २२ करोड ९८ लाख रुपियाँको दाबी परेको छ ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २७९ वटा बिमाको पाँच अर्ब आठ करोड २८ लाख र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १७० वटा घटनाको दुई अर्ब ७६ करोड ८४ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।

सङ्ख्यात्मक आधारमा भने ३७४ वटा दाबीका लागि दुई अर्ब ३९ करोड ३३ लाख रुपियाँसहित शिखर इन्स्योरेन्स अगाडि छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा दाबीको एक अर्ब ५४ करोड ५६ लाख रुपियाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्समा १९६ वटा दाबीको एक अर्ब १५ करोड ६२ लाख र नेको इन्स्योरेन्समा २११ वटा दाबीको एक अर्ब ११ करोड ८३ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।

यस्तै सानिमा जिआइसी इन्स्योरेन्समा १४२ वटा दाबीको ८१ करोड सात लाख, युनाइटेड अजोड इन्स्योरेन्समा १८९ वटा दाबीको ५१ करोड ३४ लाख, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ८३ वटा दाबीको ४७ करोड नौ लाख, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा १७४ वटा दाबीको ४५ करोड ७२ लाख, सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा १६४ वटा दाबीको ४० करोड ९९ लाख, प्रभु इन्स्योरेन्स लिमिटेडमा १०२ वटा दाबीको २० करोड ३६ लाख र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० वटा दाबीको छ करोड ८४ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।

माइक्रो इन्स्योरेन्समा तीन करोडनजिक

सञ्चालनमा रहेका चार वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ वटा दाबीको कुल दुई करोड ७० लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ । सर्वाधिक प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नौ वटा दाबीको एक करोड १३ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ । यस्तै स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नौ वटा दाबीको ७२ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नौ वटा दाबीको ४४ लाख, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड १७ वटा दाबीको ४१ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।

सम्पत्ति बिमामा सर्वाधिक दाबी

बिमालेख अनुसार सम्पत्ति बिमामा सर्वाधिक ५३८ वटा दाबीको १८ अर्ब ६१ करोड आठ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ । यस्तै मोटर बिमामा एक हजार ७७८ वटा दाबीको दुई अर्ब ९५ करोड २६ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १३२ वटा दाबीको ३३ करोड ३६ लाख, परिवहन बिमामा ११ वटा दाबीको एक करोड ५५ लाख र अन्य बिमामा १९ वटा दाबीको ३४ करोड ३८ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।

सर्वाधिक दाबी बागमतीमा

कम्पनीमा परेको बिमा दाबीको प्रवृत्ति प्रदेशगत आधारमा हेर्दा बागमतीमा सर्वाधिक छ । बागमतीमा एक हजार ३४३ दाबीको कुल १७ अर्ब ९७ करोड ७२ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ । बागमतीपछि कोशी प्रदेश ३२२ दाबीको एक अर्ब ६५ करोड तीन लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।

शीघ्र निष्कर्षमा पु¥याउने प्रतिबद्धता

नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको जनाएको छ । बिमा गरेका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन सङ्घले आग्रहसमेत गरेको छ ।

यथाशीघ्र फर्स्योट गर्न निर्देशन

नेपाल प्राधिकरणले क्षतिको यथाशीघ्र बिमा दाबी फस्र्याेट गर्न बिमा कम्पनीलाई निर्देशन दिइरहेको कार्यकारी निर्देशक सुवेदीले बताउनुभयो । प्राधिकरणले सबै निर्जीवन तथा लघु निर्जीवन बिमकका नाममा परिपत्र जारी गर्दै असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई ध्यानमा राख्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढङ्गले फस्र्याेट गर्न कम्पनीहरूलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

नेपाल बिमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवारले व्यक्तिगत आवास, सवारीसाधन, व्यापारिक प्रतिष्ठानलगायतका धेरै संरचना अहिले ध्वस्त भएको भन्दै बिमा दाबी भुक्तानीमा कुनै पनि समस्या उत्पन्न नगरी सरलीकृत गर्न कम्पनीहरू सक्षम रहेको बताउनुभयो ।

बिमा क्षेत्रकै टर्निङ प्वाइन्ट हुन सक्ने बिमा विज्ञ तथा नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष प्राडा फत्तबहादुर केसी अहिलेको अवस्था समग्र बिमा क्षेत्रकै लागि टर्निङ प्वाइन्ट भएको बताउँदै बिमा कम्पनीले दाबी भुक्तानीमा गर्ने छिटो छरितोपन र सहजताले बिमाको उज्ज्वल भविष्य निर्धारण गर्ने बताउनुभयो ।

कस्तो हुन्छ भुक्तानी प्रक्रिया ?

निर्जीवन बिमा गर्ने बिमितले बिमालेखबमोजिमको सम्पत्तिमाथि क्षति पुगेपछि  बिमा दाबी गर्न सक्छन् । बिमा दाबी भुक्तानी लिन पहिले घटना वा क्षतिको जानकारी तत्सम्बन्धी सम्पूर्ण विवरण खुलाई सम्बन्धित बिमा कम्पनीमा लिखित वा विद्युतीय माध्यमबाट निवेदन दिनुपर्ने प्रावधान छ । निवेदन पुगेपछि बिमा कम्पनीले आवश्यक जाँचबुझ गर्न तुरुन्त सर्भेयर खटाउँछ ।

खटिएको सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बिमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरणसमेतको प्रतिवेदन बिमकसमक्ष पेस गर्नु पर्छ र त्यसबारे बिमा लेखको सर्त तथा सुविधाको अधीनमा रही बिमितले पाउन सक्ने रकम उल्लेख गरी बिमितलाई जानकारी दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

सर्भेयरले बिमकसमक्ष प्रतिवेदन पेस गरेको साधारणतया ३५ (पैँतिस) दिनभित्र बिमकले दायित्व ठहर गरी बिमितलाई निर्जीवन बिमाको दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । साथै बिमकले बिमितलाई क्षति भएको यकिन भएमा क्षतिको केही प्रतिशत रकम अग्रिम रूपमा दाबी भुक्तानीसमेत गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार