लैंगिक हिंसा रोक्न घरपरिवारबाटै अभियान आवश्यक

सोमबार, ०६ असोज २०८२

विराटनगर : विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा रोकथाम र न्यूनीकरणका लागि घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् ।

यूएनएफपीएसँगको साझेदारीमा एबीसी नेपालले सञ्चालन गरेको लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सम्बन्धी कार्यक्रममा बोल्दै उनले घरपरिवारलाई नै जिम्मेवार बनाउनु पर्ने आवश्यकता औंल्याइन् ।

“लैंगिक हिंसाबाट महिला मात्रै होइनन्, पुरुष पनि पीडित हुन्छन्,” कार्यबाहक मेयर कार्कीले भनिन्, “हिंसा हुनै नदिने वातावरण बनाउनुपर्छ । महानगर जस्तोसुकै सहयोग गर्न तयार छ ।”

परियोजनाको अब केवल ९ महिना समय मात्र बाँकी रहेको उल्लेख गर्दै उनले आर्थिक कारण देखाएर परियोजना रोक्न नहुने बताइन् ।

एबीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तका अनुसार पछिल्ला तीन महिनामा विराटनगर, ओखलढुंगा र उदयपुरबाट १०३ जनाले परियोजनामार्फत सेवा लिएका छन् । विराटनगरमै मात्रै ६३ जनाले सेवा लिएका छन् भने ओखलढुंगाबाट २४ र कटारीबाट १६ जनाले सेवा लिएका छन् ।

उनीहरूले सेफ हाउसमार्फत कानुनी, स्वास्थ्य उपचार, मनोपरामर्श र संरक्षण पाएको जानकारी दिइएको छ । घरेलु हिंसा, बलात्कार, बहुविवाहलगायतका घटनाबाट पीडितहरू बढी सेवाग्राही बनेको पन्तले बताइन् ।

यस्तै, आयआर्जनका लागि १४ जनालाई कुटानीपिसानी तालिम दिइएर मेसिन र बीउपुँजी उपलब्ध गराइएको छ । विराटनगर शाखाबाट एक जनाले कम्प्युटर तालिमसमेत लिएको कार्यक्रम विज्ञ गीताञ्जली शर्माले जानकारी दिइन् ।

कार्यक्रममा विराटनगर महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम, कानुन शाखा प्रमुख शारदा थपलिया, महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु लोहनी, यूएनएफपीएका मोरङ प्रमुख सरोज भुषाल, ओसीएमसीकी अनिताकुमारी राउत, सीएमसी नेपालकी पूजा भण्डारी, ओरेक नेपालका विशाल बस्नेत र जिल्ला प्रहरी कार्यालय मोरङ महिला सेलकी गीता दाहाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार