काठमाडौं : सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्कीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले नगद सहयोग गरेको छ ।
उग्रचण्डी बोर्डिङ स्कुल नाला, कोभ्रेमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुवास्नालाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र जिफन्ट बागमती अध्यक्ष रामहरी नेपालले संयुक्त रूपमा १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका हुन् ।
प्रत्येक वर्ष घटस्थापनाका दिन मजदुरहरूमाझ सञ्चालन हुने उपहार कार्यक्रमबाट बाँकी रहेको रकममध्येबाट कार्कीको शिक्षामा सहयोग गरिएको संगठन बागमती अध्यक्ष शंकर थापाले जानकारी दिए । उनले भविष्यमा पनि उनको अध्ययनका लागि सहयोग निरन्तर रहने बताए ।
संगठनका सदस्य सुनिल कार्कीको गत साउन २७ गते भक्तपुरमा भएको सडक दुर्घटनामा निधन भएको थियो । बुबा दिवंगत भएको र आमा दोस्रो विवाह गरीसकेको अवस्थामा सुवास्नाको शिक्षाको जिम्मेवारी संगठनले लिएको हो ।
यसैबीच, उपहार कार्यक्रमअन्तर्गत विभिन्न उपहारहरू वितरण गरिएको छ । बम्पर उपहारमा ३ जनाले खसी, पहिलो उपहारमा १ जनाले ल्यापटप, दोस्रोमा १ जनाले मोबाइल, तेस्रोमा १ जनाले राइसकुकर, चौथोमा १ जनाले प्रेसर कुकर, पाँचौँमा १० जनाले आइरन र सान्त्वना उपहारमा १५० जनाले भित्तेघडी पाएका छन् ।
अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई प्रमुख अतिथि, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपाल विशेष अतिथि रहेका थिए । कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुरकुमार श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य कमल सापकोटा र धनमाया सुनुवारको उपस्थिति थियो ।
प्रतिक्रिया