काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै उनले देशको सबैभन्दा ठूलो रोजगारदाता निजी क्षेत्र आन्दोलनका बेला पटक–पटक निशानामा पर्ने गम्भीर विषय भएको उल्लेख गरे। “निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो, तर आन्दोलनका समयमा त्यसलाई कमजोर पार्ने आक्रमण हुनु दृष्टिकोणकै समस्या हो,” ढकालले भने।
उनका अनुसार हालसम्मको प्रारम्भिक तथ्यांकअनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीका कारण करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति पुगेको छ। “हामीले विगतमा पनि विभिन्न राजनीतिक र प्राकृतिक संकट सामना गरेका छौँ, अहिले पनि ठूलो चुनौती छ,” उनले बताए।
यद्यपि, वर्तमान सरकारले छोटो समयमा राहत प्याकेज ल्याएर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको भन्दै महासंघले यसलाई सकारात्मक रुपमा लिएको छ।
अध्यक्ष ढकालले सञ्चारमाध्यमलाई निजी क्षेत्रको महत्वबारे तथ्यमा आधारित खोजमूलक पत्रकारितामार्फत दृष्टिकोण निर्माण गर्न आग्रह गरे।
यस अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हालको घटनाले उद्योगी–व्यवसायीलाई असुरक्षा बढाएको र यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नकारात्मक बनाउन सक्ने बताए। उपाध्यक्ष हेमराज ढकालले सुशासन र आत्मविश्वासपूर्ण व्यवसायिक वातावरणको सुनिश्चितताका लागि सरकार–निजी क्षेत्रबीच निरन्तर संवाद आवश्यक भएको धारणा राखे।
कोषाध्यक्ष भरतराज आचार्यले अर्थतन्त्रको पुनर्निर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्नुपर्ने बताए।
सेजनका अध्यक्ष भागवत भट्टराईले सेजन सधैं खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका मुद्दामा पैरवी गर्दै आएको बताउँदै महासंघसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
महासंघले बदलिँदो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आग्रह गरेको छ।
प्रतिक्रिया