३३ बर्ष जागिर गरेर बनाएको घर खण्डहर देख्दा भावुक बनिन् राधिका शाक्य

आइतबार, ०५ असोज २०८२

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले शनिबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गरेकी छन् ।

जेन–जी आन्दोलनको क्रममा १२ दिनअघि आगलागी हुँदा खण्डहर बनेको घर उनले पहिलोपटक निरीक्षण गरेकी हुन् ।

घर अवलोकन गर्ने क्रममा राधिका निकै भावुक बनेकी थिइन् । उनले घर जल्दा मात्रै नभई एउटा ऐतिहासिक धरोहर नै नष्ट भएको गुनासो गरिन् ।

उनले भनिन्, ‘३३ वर्ष राष्ट्र बैंकमा काम गरेर आएको पैसाले घर बनाएको हो । यो बस्ने घर भन्दा पनि एउटा संग्राहलय थियो । संगीतसँग सम्बन्धित हार्मोनियम, गितार, तबला आदी थुप्रै र ज्ञानगुणका किताबहरु जलेर नष्ट भएका छन् ।  समग्रमा घर भन्दापनि मेरो संग्राहलय थियो । जिवित संग्राहलयलाई राम्ररी बनाएर नयाँ पुस्ताको लागि छोडेर जाने विचार थियो । तर  अहिले  खरानी छाडेर जानुपर्यो, मलाई दुःख त्यति मात्रै हो ।’

भदौ २३ गते सुरु भएको जेन–जी आन्दोलन हिंसात्मक मोडमा गएपछि अर्को दिन २४ गते देशभर नेताका निवास, सरकारी कार्यालय र निजी प्रतिष्ठानहरूमा तोडफोड तथा आगजनी भएका थिए । सोही क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित निवाससमेत जलेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार