काठमाडौं: दक्षिण एसियामै अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरी सूचना र स्रोतका हिसाबले कमजोर देखिएको छ। जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा देशभरका प्रहरी युनिटबाट लुटिएका करिब १,१०० हतियारको खोजी प्रहरीले अझैसम्म गर्न सकेको छैन। ती हतियार कस्ता व्यक्ति वा समूहले लगेका हुन् भन्ने पनि पत्ता लागेको छैन।
आन्दोलनका क्रममा प्रहरीचौकीमाथि आगजनी, लुटपाट र तोडफोड हुँदा देशभरका अधिकांश संरचनामा क्षति पुगेको थियो। तर क्षति भएका संरचना र प्रहरी युनिटका हतियारको तथ्याङ्क प्रहरी प्रधान कार्यालयसँग नभएको पाइएको छ।
घटनाको १५ दिन बितिसक्दा समेत मातहत युनिटलाई दिइएका हतियार, त्यसमध्ये क्षति भएका, हराएका र बाँकी रहेका हतियार सङ्ख्या यकिन गर्न नसक्नु प्रहरीको सूचना, स्रोत र व्यवस्थापकीय कमजोरीको सङ्केत हो, एक पूर्वप्रहरी अधिकृतले बताएका छन्।
पूर्वडिएसपी दीपेन्द्र शाहले भने, “लुटिएका हतियारको प्रयोगकर्ता को हुन सक्छन् भन्ने विषय निकै गहिरो छ। यसले नागरिकको सुरक्षामा चुनौती थपेको छ। प्रहरी मात्र नभएर आम नागरिकले पनि त्यस्ता गतिविधि नियालेर सुरक्षा निकायलाई सूचना दिनुपर्छ।”
प्रदर्शनकारीहरूले प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको भिडियो तथा तस्बिर स्वयं सार्वजनिक गरेका थिए। कतिपयले आफैँ हतियार बुझाएका छन् भने केही हतियार नेपाली सेनाले भेटेर बरामद गरेको छ।
लुटिएका हतियारमध्ये कम्तीमा ३०० थान हतियार नेपाली सेनाले बरामद गरेको जनाएको छ। प्रदर्शनमा पेस्तोल, बन्दुक, ग्यास गन, एसएलआर, थ्री-नट-थ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टी-टु म्याग्नमलगायत हतियार लुटिएको प्रहरी अधिकृतहरूले बताएका छन्।
सबै प्रकारका गरी करिब १,१०० थान हतियार लुटिएको हुन सक्ने अनुमान छ।
आफ्नै हतियार खोसिएका मात्र होइन, सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण र मृत्युजस्ता घटनाबाट प्रहरी मनोबल पनि घटेको देखिन्छ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार खोस्नेहरू जेनजी नभएर अन्य आपराधिक व्यक्ति भएको प्रहरी अधिकारीहरूले बताएका छन्। लुटिएका र आगजनी भएका हतियारको विवरण तयार गर्न प्रहरी प्रधान कार्यालयले डिआइजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ।
अन्वेषण योजना तथा विकास निर्देशनालयका डिआइजी रेग्मीको नेतृत्वमा बनेको समितिले प्रतिवेदन कहिले बुझाउँछ भन्ने यकिन छैन।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने, “हामीले यस विषयमा अध्ययन र छानबिन गर्न समिति बनाएका छौँ। कतिपय हतियार जलेका छन्, कति हराएका छन्, यसको यकिन विवरण छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिन्छ।” उनले थपे कि सो प्रतिवेदन आउन अझै केही समय लाग्नेछ।
हतियारको तथ्याङ्क नै नआएको कारण प्रहरीसँग कति गोली, अश्रुग्याँस हराए वा लुटिए भन्ने विषय अस्पष्ट छ। गत आइतबार काभ्रे प्रहरीले ७३० राउन्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको थियो। जेनजी प्रदर्शनका क्रममा काठमाडौँसहित देशभर १,९६३ प्रहरी घाइते भएका थिए।
सो आन्दोलनमा प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवलदार अमृत गुरुङको मृत्यु भएको थियो। तीन मानवीय क्षति भएको प्रहरी सङ्गठनमा अधिकांश प्रहरी कार्यालय भग्नावशेष बनेका थिए। ती कार्यालयलाई स्थानीय नागरिकको सहयोगमा मर्मत सम्भार गरी सुरक्षाकर्मीलाई पुनः स्थापना गरिएको छ।
प्रदर्शनकारीहरूले प्रहरी भवनमा तोडफोड, आगजनी गर्नुका साथै गाडी जलाउने र लुटपाट गर्नेसम्मका गतिविधि गरेका थिए। प्रारम्भिक तथ्याङ्क अनुसार देशभर करिब ५०० चौकी ध्वस्त भएका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार ५०० मध्ये १९७ कार्यालय पूर्ण रूपमा क्षति भएका थिए। प्रहरी युनिटमा आगजनी हुँदा केही हतियार जलेको अवस्थामा पनि फेला परेका छन्।
जेनजी प्रदर्शनमा भएको दमन, आगजनी र तोडफोडको छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको सो आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन्।
आयोगले घटनाको समग्र अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ। प्रदर्शनमा प्रहरीको गोली चलाउने र हतियार लुटिएको विषयलाई आयोगले विशेष महत्वका साथ लिएर अनुसन्धान गर्नेछ। सुरक्षा विज्ञहरूले लुटिएका हतियार कसले र कसरी प्रयोग गर्छन् भन्ने विषय नागरिक सुरक्षामा चुनौती भएको बताएका छन्।
आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया