इटहरी : प्रत्येक वर्ष दिनमा आउने असङ्ख्य पर्वमध्ये दसैं नेपाली समाजमा विशेष महत्त्व राख्छ । यो केवल चाड मात्र होइन, यो भावनाको सङ्गम हो । आफन्तसँग भेटघाट गर्ने, आशीर्वाद ग्रहण गर्ने, पुरानो दुःख विस्मरण गर्दै नयाँ आशाको बीउ रोप्ने पर्व हो ।
यस पटक हामीले केही चर्चित पूर्वेली कलाकारहरूको दसैं अनुभव सङ्कलन गरेका छौं । कसैले टाढा देशमा बसेर मनाए, कसैले आफ्नै परिवारसँग आत्मीयता साटे, कसैले चलचित्र निर्माण र व्यावसायिक व्यस्ततालाई थाती राखेर पारिवारिक जीवनमा रमाए ।
दिपाश्री निरौलाः निर्देशक: कलाकार
दसैंसँगै सधैँ चर्चामा रहने नाम हो दिपाश्री निरौला । ‘छक्का पञ्जा’ सिरिजका कारण दसैंको चर्चासँग उनको नाम प्रायः जोडिन्छ । विराटनगरकी यी लोकप्रिय निर्देशक तथा कलाकार प्रायः दसैंमा आफ्नै घर फर्केर बुबा, दाजुभाइ, दिदीबहिनीसँग मिलनको क्षण बाँड्ने गर्थिन् ।
तर, यस वर्ष भने उनको दसैं भिन्न आयाममा बित्यो । उनी अमेरिका भ्रमणमा छिन् । “अब हामी उठ्ने छौँ” शीर्षकको साङ्गीतिक–नाट्य टुरका क्रममा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, गायक धर्बेन्द्र सेवाङ लगायतका कलाकारसँगै उनी अमेरिकाका विभिन्न सहरमा प्रस्तुत भइरहेकी छिन् ।
दीपाले भनिन्,“घरको सम्झना त हरेक चाडमा आउँछ, तर हामीलाई दर्शकको माया नै घरको न्यानोपन हो । यस पटक परिवारसँग प्रत्यक्ष नभए पनि परदेशमै नेपालीहरूसँग चाडको उत्सव बाँड्न पाएको छु, यो पनि अलग्गै सौभाग्य हो ।”
अझै करिब एक महिनापछि मात्र उनीहरूको टोली नेपाल फर्किने कार्यक्रम रहेको छ ।
शङ्कर अधिकारी घायलः गीतकार-निर्देशक
झुम्काका गीतकार तथा निर्देशक शङ्कर अधिकारी घायल दसैं मनाउन यस वर्ष पूर्व पुगे । राजधानी काठमाडौंको व्यस्त जीवनलाई केही समयका लागि छाडेर आफन्त भेट्ने र पुरानो सम्झना टट्कारो पार्ने अवसरका रूपमा उनले दसैंलाई उपयोग गरे ।
“देशको अवस्था उत्साहजनक छैन, राजनीतिक अस्थिरता र सामाजिक तनावले मनलाई भारी बनाएको छ । तर, पनि वर्षमा आउने एक पटकको चाडलाई परिवारसँग मिलनको अवसरका रूपमा लिनुपर्छ,” उनी भन्छन् ।
अहिले उनी आफ्नै लेखन तथा निर्देशनमा निर्माणाधीन चलचित्र ‘सुस्केरा’ को पोष्ट–प्रोडक्सनमा व्यस्त छन् । दसैं अघि नै छायाङ्कन पूरा भएको यस चलचित्रलाई उनी अत्यन्तै आत्मीय परियोजनाका रूपमा लिएका छन् । केही दिन सबै काम थाँती राखेर दसैंलाई आत्मसात् गरे पनि चाडपछाडि उनी पुनः राजधानी फर्किएर आफ्नो श्रमलाई निरन्तरता दिने तयारीमा छन् ।
दीपक आचार्यः निर्देशक-कलाकार
दसैं कलाकारहरूको लागि केवल पर्व मात्र होइन, उनीहरूको व्यस्ततालाई अस्थायी रूपमा थाम्ने माध्यम पनि हो । निर्देशक तथा कलाकार दीपक आचार्य यस वर्ष इटहरी फर्किए । आफ्ना परिवारसँग भेटघाट गर्दै आत्मीयता बाँड्दै बितेको उनको दसैं आत्मसन्तुष्टि दिने खालको रह्यो ।
“व्यावसायिक जीवनमा निरन्तर दौडधुप छ, तर चाडबाडमा घर फर्केर परिवारसँग बस्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि हो,” उनी भन्छन् ।
उनले निर्देशन गरेको चलचित्र ‘परान’ अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । दसैं सकिए लगत्तै उनले पुनः काठमाडौं फर्केर चलचित्रको सम्पादन र प्रचार–प्रसारलाई तीव्रता दिने योजना बनाएका छन् । आउँदो कार्तिक १४ गतेबाट ‘अलनेपाल’ प्रदर्शनमा आउने यो चलचित्रप्रति उनलाई ठूलो आशा छ ।
अरुणकुमार प्रधानः निर्देशक
चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव अरुणकुमार प्रधानको दसैं यस पटक अघिल्ला वर्षको तुलनामा कम उत्साहपूर्ण रह्यो ।
उनी भन्छन्,“ज्यानजी आन्दोलनका क्रममा धेरै नेपाली शहीद भएका छन् । यस्तो अवस्थामा हामी खुलेर रमाउन सक्दैनौँ । चाड त मनाउनु पर्छ, तर त्यो उमङ्ग, त्यो उल्लास भने कम भइदिन्छ ।”
यसै कारण दसैंमा आयोजना गर्न लागिएको दुई वटा औपचारिक कार्यक्रम स्थगित गरिएको उनले बताए । उनी भन्छन्,“दसैंले परम्परा निरन्तरता दिन्छ, तर यस पटकको दसैंले हामीलाई आत्मावलोकन गर्न पनि बाध्य पारेको छ ।”
भीम लामाः निर्देशक
निर्देशक भीम लामाको दसैं पनि सामान्य रह्यो । उनी सम्झन्छन्,“पहिला गाउँमा हुँदा दसैंको रमाइलो बेग्लै हुन्थ्यो । झिलिमिली पिङ, टिका जमरा, मेला–महोत्सव । अहिले भने त्यो रौनक सहरको व्यस्ततामा हराएको छ ।”
देशको प्रतिकूल अवस्थामा रमाइलोपन पनि कम भएको उनले बताए । आफन्त भेटेर, आमा–बुबाको हातबाट आशीर्वाद ग्रहण गरेर मात्र दसैं मनाइयो । उनले निर्देशन गरेको चलचित्र ‘लडाइँ पहिचानको’ आउँदो मङ्सिर ५ गते प्रदर्शनमा आउँदै छ । दसैं सकिनासाथ उनी पुनः त्यसैमा व्यस्त हुनेछन् ।
रचना रिमाल : गायिका
चर्चित गायिका रचना रिमाल सामान्यतया व्यस्त जीवनमा रमाउँछिन् । देशभित्र र बाहिर दर्जनौँ स्टेज कार्यक्रमले उनलाई सधैँ सक्रिय बनाइरहन्छ । तर दसैंमा भने उनले पूर्ण रूपमा पारिवारिक जीवन रोजिन् ।
झापामा आमाबुबासँगै दसैं मनाउँदै उनले चाडलाई आत्मीयता र स्मृतिले भरिएको पर्वको रूपमा लिइन् । “जीवनमा धेरै ठुला अवसर आउँछन्, तर आमा–बुबाको हातबाट टिका ग्रहण गर्ने क्षण जस्तो अमूल्य केही हुँदैन,” उनी भन्छिन् ।
मावली गएर मामा–माइजूसँग आशीर्वाद लिँदै, परिवारसँग समय बिताउँदै उनले यस पटकको दसैंलाई शान्त, सरल रूपमा अर्थपूर्ण ढङ्गले मनाइन् ।
दिनेश कोइरालाः कलाकार
चलचित्रकर्मी महासंघका महासचिव समेत रहेका कलाकार दिनेश कोइरालाको दसैं यस पटक पनि सामान्य रूपमा आत्मसन्तुष्टिपूर्ण रह्यो । उनले आमा र दाजुभाउजुको हातबाट आशीर्वाद ग्रहण गरे र परिवारसँग आत्मीय क्षण बाँडे ।
उनले भने,“देशको परिस्थिति कठिन छ, यसैले चाडको उमङ्ग पनि पहिले जस्तो छैन । तर चाड भनेको केवल रमाइलो मात्र होइन, परम्परा निरन्तरता दिने र परिवारसँग आत्मीयता बाँड्ने अवसर पनि हो ।”
रितेशजंग क्षेत्री:कलाकार
यस वर्ष दसैंलाई विशेष बनाएको एउटा कारण भनेकै चलचित्र ‘बलिदान’ हो । यसमा खलपात्रको दमदार अभिनय गरेका कलाकार रितेश जंग खत्री दसैं अघिदेखि नै दर्शक भेटघाट र प्रचारप्रसारमा व्यस्त रहे ।
“कलाकारको दसैं भनेको दर्शकको प्रतिक्रियामा छ,” उनी भन्छन् । चलचित्रले पाएको प्रशंसा र उत्साहले उनलाई हौसाएको छ ।
फूलपातीको दिन अर्थात् असोज १३ गतेबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र ‘बलिदान’ मा उनको अभिनय विशेष गरी कोशी प्रदेशमा निकै चर्चा पाएको छ । यसैले उनको दसैं व्यावसायिक गर्व र व्यक्तिगत खुसी दुबैका साथ बित्यो ।
एलिना चौहानः गायिका
झापाकी गायिका एलिना चौहान हाल अमेरिका भ्रमणमा छिन् । “अब गाउँछ अमेरिका” नामक म्युजिकल टुरका क्रममा उनी बद्री पङ्गेनी, प्रताप दासलगायतका कलाकारसँगै विभिन्न सहरमा प्रस्तुति दिइरहेकी छिन् ।
अमेरिकामा भए पनि उनले दसैंलाई आत्मसात् गर्न छुटाइनन् । सामाजिक सञ्जालमा टिका ग्रहण गरेको तस्बिर अपलोड गर्दै उनले भनिन् ः “घर टाढा भए पनि संस्कार कहिल्यै टाढा हुँदैन ।”
उनको दसैं परदेशी भूमिमा भए पनि नेपालीपनले भरिएको रह्यो ।
प्रज्वल दुलालः कलाकार
इटहरीमा रहेर लामो समय रेडियो कार्यक्रममार्फत स्वरको जादू छरिरहेका कलाकार हुन् प्रज्वल दुलाल । माइक र ध्वनिको संसारमै रमाइरहेका उनले केही वर्षयता अभिनयकला प्रति मोह बढाउँदै नाट्य रङ्गमञ्च हुँदै चलचित्रको पर्दासम्म यात्रा तय गरेका छन् । यस पटकको दसैं प्रज्वलका लागि विशेष बनेको छ । तर, पारिवारिक टिका जमराभन्दा पनि दर्शकमाझ !
देशभर प्रदर्शन भइरहेको चलचित्र ‘बलिदान’ मा समीर भट्टको भाइको भूमिकामा देखिएका प्रज्वललाई अहिले दर्शकले नयाँ रूपमा पाउँदै छन् । पहिलो पटक चलचित्रको ठूलो पर्दामा प्रस्तुत भएका उनले दमदार अभिनय गरेर चौतर्फी चर्चा कमाएका छन् । चलचित्र नगरीमा स्थापित हुन सक्ने सम्भावित कलाकारहरूको सूचीमा उनको नाम जोडिनु पनि सहजै अनुमान गर्न सकिने कुरा बनेको छ ।
दसैंको माहौलमा जहाँ सामान्यतया कलाकारहरू आफ्ना परिवार र आत्मीयजनसँग रमाइरहेका हुन्छन्, त्यहाँ प्रज्वल भने दर्शक भेटघाटमा व्यस्त देखिन्छन् । टिका जमरा र पारिवारिक जमघटलाई उनले केही समयका लागि भुलेर दर्शकसँगको आत्मीयता रोजेका छन् । यो आत्मीयता नै उनका लागि सबैभन्दा ठूलो पर्व बनेको छ ।
यसरी हेर्दा, प्रज्वल दुलालको २०८२ सालको दसैं केवल उत्सव मात्र होइन, उनको कलात्मक यात्राको एउटा महत्त्वपूर्ण मोड पनि हो । नाटकको मञ्चबाट चलचित्रको पर्दासम्मको पाइला राखेका उनले आफ्नो सम्पूर्ण पर्व र उत्सवलाई दर्शकलाई समर्पण गरेका छन् । कलाकारको असली पर्व भनेकै दर्शकको माया हो भन्ने कुरालाई उनले आफ्नो व्यवहारले पुष्टि गरिदिएका छन् ।
यस वर्षको दसैंले पूर्वेली कलाकारहरूमाझ फरक–फरक अनुभूति ल्याइदियो । कसैले आफ्नै गाउँघरमा आमाबुबा, आफन्त र साथीभाइसँगै बस्दै आत्मीयता साटे; कसैले देश छाडेर टाढा अमेरिकामा बसेर पनि नेपालीपनको स्वाद बिर्सेनन्; कोही व्यावसायिक व्यस्तता र चलचित्र निर्माणका कामलाई थाती राखेर चाडमा रमाए भने कोही देशको वर्तमान परिस्थितिका कारण उमङ्गभन्दा बढी गम्भीर बने ।
तर, यी सबै कथाहरू एउटै साझा धागोमा गाँसिएका छन् — दसैं केवल रमाइलो गर्ने पर्व मात्र होइन, यो संस्कार, आत्मीयता र अस्तित्वको पुनः स्मरण हो । दसैंले मानिसलाई आफ्नो मूल थलो, आफ्ना जरा, आफ्ना भावनासँग पुनः जडित गराइदिन्छ ।
कलाकारहरूका लागि त झन् यो पर्व अझै गहिरो महत्त्व राख्छ, किनभने उनीहरू आफ्नो जीवनलाई निरन्तर दर्शक र मञ्चमा बाँडिरहेका हुन्छन् । तर दसैंमा भने उनीहरू पनि साधारण नागरिकझैँ आफ्ना आमा–बुबाको हातमा टिका राखेर, आशीर्वाद ग्रहण गरेर, केही क्षणलाई भए पनि लोकप्रियता र व्यावसायिक चिन्ताभन्दा टाढा भएर आत्मीयताको गोरेटोमा हिँड्छन् ।
यसरी हेर्दा, चाहे परदेशमा बसेर होस् वा आफ्नै आँगनमा, चाहे राजनीतिक आक्रोशका छायामाझ होस् वा परिवारको आत्मीय मायामाझ, दसैं ले कलाकारहरूलाई पनि बाँध्ने शक्ति देखाएको छ । जीवनको हरेक आरोह–अवरोहबिच दसैं ले ल्याउने आशा, आत्मीयता र न्यानोपन नै यसको मूल सार हो, जसलाई सबैले आ–आफ्नै ढङ्गले अनुभूत गरेका छन् ।
प्रतिक्रिया