राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जेनजी प्रतिनिधि छनोट

बुधबार, ०८ असोज २०८२

काठमाडौँ – जेनजी आन्दोलनका मागहरूबारे छलफल गर्न जेनजी प्रतिनिधि टोली राष्ट्रपति रामचन्द्र पौडेल र सरकारका प्रतिनिधिसँग भेटवार्ता गर्ने भएको छ।

आज बुधबार बसेको जेनजीहरूको बैठकले सुदन गुरुङ, पुरुषोत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता र खेमराज साउदलाई प्रतिनिधि छान्दै छलफल अघि बढाउने निर्णय गरेको हो।

जेनजी नेता निकुञ्ज भण्डारीका अनुसार, छलफलको मिति भने अझै टुङ्गो लाग्न बाँकी छ।

सुदन गुरुङले पनि आजको बैठकमा विखण्डित रूपमा रहेका जेनजी प्रतिनिधिहरू एकताबद्ध भएर साझा एजेन्डा तयार गर्ने निष्कर्ष निकालिएको जानकारी दिए। ‘अब मुद्दा पनि साझा बनाएरै छलफलमा जान्छौँ,’ उनले भने।

राष्ट्रपति र सरकारसँग हुने वार्तामा जेनजी आन्दोलनका सहिदका परिवारका सदस्य, घाइते र तीनका प्रतिनिधिहरू समेत सहभागी हुने तयारी छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।

यो सरकार ११ सदस्यीय मन्त्रिपरिषद् बनाउन लागिरहेको छ भने अहिलेसम्म ८ सदस्यीय मन्त्रिपरिषद् विस्तार भइसकेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार