जेनजी आन्दोलनपछि कांग्रेस–माओवादी–रास्वपामा नेतृत्व संकट: नयाँ नेतृत्व खोज्न दबाब

बुधबार, ०८ असोज २०८२

काँग्रेसमा विशेष महाधिवेशनको माग, १०९ नेताको हस्ताक्षर

काठमाडौँ : नेपाली काङ्ग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएपछि १०९ जना नेताहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान प्रारम्भ गरेका छन् । इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकाल्न महाधिवेशन अपरिहार्य भएको उनीहरूको आग्रह छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । विषम परिस्थिति र सङ्कटबाट काँग्रेसलाई मुक्त गर्न हाम्रो पनि उत्तिकै दायित्व छ ।”

कोसी प्रदेशमा सभापतिमा पराजित गुरुराज घिमिरे, युवा नेता देवराज चालिसे, तारानाथ दाहाल, पूर्वसांसद रीता शाहीलगायतले हस्ताक्षर गरेका छन् । यसअघि महासचिवद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिमा विशेष महाधिवेशन प्रस्ताव गरे पनि अल्पमतमा परेका थिए ।

नेताहरूले भदौ २३–२४ मा जेनजी पुस्ताको आन्दोलनमा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।


माओवादीमा ‘कार्यवाहक अध्यक्ष’ को बहस

 नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई कार्यवाहक अध्यक्ष तोकेर पार्टीलाई आगामी महाधिवेशनमा लैजानुपर्ने प्रस्ताव गरेका छन् ।

बैठकमा श्रेष्ठले अध्यक्ष प्रचण्डले चुनावअघि नेतृत्व छाडेर प्रणालीगत रूपमा कार्यवाहक अध्यक्ष तोक्नुपर्ने तर्क प्रस्तुत गरेका थिए । उपमहासचिव जनार्दन शर्मा र सचिव मातृका यादवले श्रेष्ठको प्रस्तावलाई समर्थन गरे भने अन्य नेताहरूले भने प्रचण्डबाहेक अरू कसैले नेतृत्व गर्न नसक्ने ठोकुवा गरे ।

बुधबार बस्ने स्थायी समिति र बिहीबारको केन्द्रीय समितिमा यस विषयमा निर्णय हुने माओवादी स्रोतले जनाएको छ ।


रास्वपामा पनि नेतृत्व सङ्कट : ‘नयाँ’ भित्र नयाँको चुनौती

 नयाँ पुस्ताले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि नेतृत्व सङ्कट चर्किन थालेको छ । सभापति रवि लामिछानेमाथि अदालतमा मुद्दा विचाराधीन रहँदा र पुर्पक्षका लागि कारागारमा बस्दा पार्टीको छविमा आघात पुगेको भन्दै नेतृत्व छाड्न दबाब बढ्दै गएको हो ।

सुदूरपश्चिम प्रदेश समितिले सभापति परिवर्तनको औपचारिक सुझाव केन्द्रीय समितिलाई पठाएको छ । तर, मङ्गलवार सम्पन्न बैठकले यसबारे निर्णय गर्न सकेन ।

यसैबिच, रास्वपाले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारमा भएको आगजनी र तोडफोडमा पार्टीको संलग्नता नरहेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता मनीष झाले नेताहरू उपस्थित भए पनि आगजनी नगर्न आग्रह गरिएको दाबी गरेका छन् ।

तर आगजनीको समयमा सभापति लामिछाने श्रीमती निकिता पौडेलसहित कारागारबाट बाहिरिएको समाचार सार्वजनिक भएपछि विवाद चुलिएको छ । देशभर १६ हजार कैदी कारागारबाट भाग्दा त्यसमध्ये धेरैजसोले आन्दोलनका हिंसात्मक गतिविधिमा संलग्न भएको सुरक्षा निकायको दाबी छ ।

यहीबिच, सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । आगजनी घटनापछि रास्वपा भित्र स्वतःस्फूर्त रूपमा पद–पार्टी त्याग्ने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार