काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व त्याग्ने घोषणा गरेका छन्।
बुधबार राजधानीमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट हट्ने प्रस्ताव पेस गरेका हुन्। बैठकले केन्द्रीय समिति नै भंग गरेर आगामी फागुनमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
बैठकमा महाधिवेशन तयारीका लागि आयोजक कमिटी गठन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ। वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई संयोजक तोक्ने तयारी भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
यस अवसरमा भट्टराईले ‘जेन–जी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पनि प्रस्तुत गरे। उनका अनुसार, नयाँ पुस्ताले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने आवश्यकता औंल्याउँदै आफूले पद त्याग्ने निर्णय गरेका हुन्।
पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले बैठकमा अध्यक्षले पदत्यागको प्रस्ताव राखेको र फागुनमा महाधिवेशन गर्ने विषयमा छलफल भइरहेको बताइन्। यसबारे विस्तृत जानकारी दिने उद्देश्यले बिहीबार पत्रकार सम्मेलन आयोजना हुने पनि उनले जनाइन्।
उनले करिब एक दशकदेखि नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएका छन्।
प्रतिक्रिया