धरानमा निर्माणाधीन लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

बुधबार, ०८ असोज २०८२

सुनसरी : धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो। सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन। पुल नबन्दा स्थानीयवासीले सास्ती भोग्नुपरिरहेको छ। 

पुल निर्माणका लागि विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबिच रु एक करोड २१ लाख ८६ हजार आठ सय १३ को लागतमा सम्झौता भएको थियो। सम्झौताअनुसार विसं २०७८ साउन ७ गतेभित्र पुलको निर्माण पूरा हुनुपर्ने थियो।

यद्यपि पुल निर्माण अहिले ५० प्रतिशत मात्र पूरा भएको धरान उपमहानगरपालिका–५ का अध्यक्ष मनप्रसाद लिम्बूले बताए। उनको अनुसार दुवैतर्फका पिलरहरू उठाइए अहिले सबै झाडीले ढाकिसकेको छ। अरू संरचनात्मक काम अलपत्र अवस्थामा छन्।

पुल नबन्दा धरान उपमहानगरपालिका–५ र ४ का साथै धरान बजारसँगको आवतजावतमा समस्या भएको छ।

बर्खामा खोलामा बाढी आउने भएकाले गाउँलेहरू ज्यानको जोखिम मोलेर खोला पार गर्न बाध्य छन्। ‘बिरामी परे अस्पताल पुर्‍याउन कठिन हुन्छ, बाँसको अस्थायी पुल बनाउने प्रयास गरे पनि बाढीले भत्काइदिन्छ,’ अध्यक्ष लिम्बूले भने।

स्थानीय नरबहादुर मगरको अनुसार खोला तरेर विद्यालय जानुपर्ने बालबालिका बर्खामा झन् समस्यामा पर्छन्। बाढीको बेला बालबालिका खोलाको किनारमा घण्टौँसम्म बस्नुपर्छ। ‘गाउँमा उत्पादन भएको कृषि उपज धरान लैजानका लागि पनि समस्या छ, पुल निर्माण भए सहज हुन्थ्यो भन्ने अपेक्षा छ,’ उनले भने।

धरान–५ मा कक्षा ५ सम्म मात्र पढाइ हुने विद्यालय छ। कक्षा ६ देखि माथिल्लो कक्षा पढ्न खोलापारिको धरान बजार पुग्नुपर्छ। मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका विद्यार्थीहरू दैनिक जोखिम मोलेर विद्यालय जान बाध्य छन्।

पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेको गुनासो स्थानीयको छ। गत चैत १२ गते ठेकेदारलाई बोलाएर ‘जेठ मसान्तसम्म काम सक्ने गरी सहमति गरायौँ, तर अहिले त सम्पर्कमै छैन,’ अध्यक्ष लिम्बूले भने।

पुल निर्माणको विषयमा गत चैतमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरेका थिए।

मन्त्री राईको अनुसार काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया सुरु गरिएको थियो। तर ठेकेदार कम्पनीले अदालतबाट स्टे–अर्डर लिएपछि काम अघि बढ्न नसकेको उनको भनाइ छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार