चितवन : लगातारको वर्षा र पहिरोको जोखिम बढेसँगै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीलाई अलपत्र यात्रुका लागि ७५ प्रतिशत छुटमा बस्न दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
प्रजिअ अर्यालले छुट पाएका यात्रुलाई पनि अन्य पाहुनाझैँ व्यवहार गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
होटल व्यवसायी सङ्घका प्रतिनिधिहरूले उक्त निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
यससँगै चितवन हुँदै राजधानी काठमाडौँ जाने सम्पूर्ण सवारी साधन शनिवार साँझदेखि रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले नारायणगढ–मुग्लिन सडक खण्ड र मुग्लिन–मलेखु सडकखण्डमा पहिरो र बाढीको उच्च जोखिम भएकाले अर्को सूचना नआएसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो ।
प्रजिअ अर्यालका अनुसार चितवन भएर अन्य गन्तव्यतर्फ जाने सवारी साधनलाई पनि रोक लगाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले सतर्कता जारी गरेपछि यात्रुको सुरक्षालाई ध्यान दिँदै यस्तो निर्णय गरिएको बताइएको छ ।
प्रतिक्रिया