सुनसरी : सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह पार गरेसँगै जल तथा मौसम विज्ञान विभागले आसपासका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ।
विभागले आइतबार बिहान ५ बजे जारी गरेको सूचनामा पछिल्ला घण्टामा भएको लगातार वर्षाका कारण नदीको जलस्तर बढ्दै गएको र बेलुकासम्म बाढीको जोखिम अझ बढ्न सक्ने जनाएको छ।
सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने क्षेत्रहरूमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।”
विभागले बाढी सम्भावित क्षेत्रका स्थानीय बासिन्दा, सुरक्षा निकाय र विपद् व्यवस्थापन निकायहरूलाई आवश्यक तयारी र सतर्कता अपनाउन पनि आग्रह गरेको छ।
प्रतिक्रिया