पूर्व सांसद नेम्वाङको सन्देश : “आफैँ सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ”

आइतबार, १९ असोज २०८२

इलाम : अविरल वर्षाले इलाम र आसपासका क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ। लगातारको वर्षाले इलाम नगरपालिका, इलादेउमाई, फाकफोकथुम, माई, चुलाचुली र माङसेबुङ गाउँपालिकासहितका क्षेत्रमा बाढी–पहिरो र डुबानको जोखिम बढाउँदै जनधनको क्षति पुर्‍याएको छ।

घर, सडक, पुल र अन्य भौतिक संरचना क्षतिग्रस्त भएका छन् भने स्थानीय प्रशासन, प्रहरी, सेना र जनप्रतिनिधिहरू उद्धार र राहतमा सक्रिय छन्। राज्य संयन्त्रका तर्फबाट स्रोत, साधन र जनशक्ति निरन्तर परिचालनमा रहे पनि जोखिम अझै टरेको छैन।

 विपद्को घडीमा प्रतिनिधिसभाका पूर्व सांसद सुहाङ नेम्वाङले सबै नेपालीलाई एकजुट भएर सहयोगी बन्न अपिल गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले लेखेका छन् —

“यो कठिन समयमा सबैलाई सुरक्षित रहन, अत्यावश्यक बाहेकका यात्राबाट टाढा रहन, र सम्भावित जोखिमबाट सावधान रहन आग्रह गर्दछु। बाढी–पहिरोबाट ज्यान गुमाउनु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

नेम्वाङले घाइते र विपद् प्रभावितको उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी र जनप्रतिनिधिसँग निरन्तर समन्वय भइरहेको बताएका छन्। साथै उनले आपत्कालीन सहयोगका लागि निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् —
📞 दर्शन कुलुङ – ९८५२६८०२०६
📞 हेमन्त आचार्य – ९८४८७११८३४

साथै, उनले जनतालाई थप क्षति वा समस्या देखिए तुरुन्त जानकारी दिन आग्रह गर्दै भनेका छन् —“आफैँ सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ। यो बेला सहकार्य, सद्भाव र संवेदनशीलता प्रदर्शन गर्ने समय हो।”

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार