विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी

सोमबार, २० असोज २०८२

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टीका थाप्न जानै बाँकी नै थियो होला ।

यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणलाई झस्कायो । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको समेत जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी ग¥यो । त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुशरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सोमबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन तीन दिनसम्म रोक्ने निर्णय ग¥यो ।

यस निर्णयले यसपटक बाढी–पहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुलमान घिसिङले सरकारको पूर्वतयारीका कारण भौतिक पूर्वाधारमा क्षति भए पनि विगतमा जस्तो सडकमा यात्रा गरिरहेका यात्रुहरूको धनजनको क्षति हुन नपाएको बताए ।

गत वर्षको असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुबाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो । रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना४ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा३ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको थियो ।

गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा गर्न नहुने भन्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता ग¥यो । न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारीसाधन बन्द गर्न सके । यस वर्षजस्तो न त कडाइका साथ सवारीसाधन आवागमनमा रोक लगाइयो । गत वर्ष सरकार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीमा चुकेको सम्बन्धित विज्ञहरुले टिप्पणी गरेका थिए ।

गत वर्षको असोज १०, ११ र १२ गतेको भारी वर्षाले काठमाडौँ उपत्यकाको अधिकांश भाग डुबाउनमा परेको थियो । यहाँका बासिन्दाले नसोचेको विपद् बेहोर्नुप¥यो । काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै पनि कयौँलाई तर्साइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । अठार जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् ।

गत असार २८ गते पनि नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको डेब्रिज बहावका कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीको मनमस्तिष्कमा नमीठो सम्झना बनेर रहेको छ । यस पटक सरकारको राम्रो पूर्वतयारीका कारण अप्रिय घटनाहरू हुन पाएन ।

पूर्वसूचनाको वेवास्ता गर्दा मानवीय क्षति

जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै भारीदेखि अति भारी वर्षाका कारण बाढी–पहिरो जस्ता धनजनको क्षति हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको थियो । विभागले दिएको पूर्वसूचना बेवास्ता नगरेको भए लाङ्टाङमा पदयात्राका लागि निस्किएका भक्तपुरका चार जना बेपत्ता हुने थिएनन् ।

पदयात्रा त पछि पनि जान सकिन्थ्यो नि । खतरा छ भन्ने सूचना आउँदा आउँदै त्यसरी घरबाट निस्किनु हुन्थेन । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा भक्तपुर जिल्ला ठिमी नगरपालिका–३ का २५ वर्षीय संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीय सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ वेपत्ता छन् । यस्ता अप्रिय घटनाका उदाहरणले अब भने सबैलाई पाठ सिकाओस् ।

पहिरोको पनि पूर्वसूचना आवश्यक

जल तथा मौसम विज्ञान विभागले बाढीको प्रभाव पर्ने सम्भावित क्षेत्रहरूमा पूर्वसूचना दिएर सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा बस्न सहयोग ग¥यो । तर बाढीको जस्तै पहिरोको पनि पूर्वसूचना प्रणालीको विकास नभएकै कारण पछिल्ला वर्षहरूमा पहिरोबाट हुने धनजनको क्षति बढ्दै गएको बताउँछन्, पहिरोविद् डा। सुवोध ढकाल ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ जना, माङ्सेवुङ गाउँपालिका–१ मा तीन, देउमाई नगरपालिका–५ मा आठ, जोगमाई गाउँपालिकामा आठ, सन्दकपुर गाउँपालिकामा छ र फाकफोकथुम गाउँपालिकामा एक जनाको ज्यान गएको उनले जानकारी दिए ।

पहिरोविद् ढकालले पहिरोको जोखिम न्यूनीकरण गर्न पहिरो जानसक्ने स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुपर्ने, त्यस्ता स्थानमा नबस्न सूचना दिनुपर्ने, पहिरोको पूर्वसूचनामा राज्यको लगानी बढाउनुपर्ने, समयमा खोज तथा उद्दार कार्यलाई प्राथमिकता दिनुपर्ने, जथाभावी रूपमा खनिने सडक पूर्वाधार रोक्नुपर्ने, वातावरणमैत्री विकासमा जोड दिनुपर्ने, पहिरो रोकथामका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।

“नेपालजस्तो भौगोलिक मुलुकमा पहिरोको वर्षेनी जोखिम छ । कतिपय स्थानमा पुराना पहिरोमा बस्ती बसेका छन् । पुराना पहिरो दोहोरिएर जाने सम्भावना हुन्छ । तसर्थ, पहिरोको जोखिम भएको बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्छ,” उनले भने, “सडक यातायात आवागमनमा रोक लगाएर अझ ठूलो क्षति हुन पाएन । दीर्घकालीन समाधानका लागि जोखिम भएका स्थानमा सुरुङ निर्माण गर्नुपर्छ । नेपालजस्तो मुलुकमा सुरुङमार्ग उचित विकल्प हो ।”

प्राधिकरणको तथ्याङ्क अनुसार गतवर्षको वैशाख १ गतेदेखि चैत १२ गतेसम्मको तथ्याङ्क हेर्दा पहिरोका कारण तीन सय ५९ जनाले ज्यान गुमाए भने ४८ जना अझै पनि बेपत्ता र दुई सय ८७ जना घाइते भएका छन् । सो अवधिमा तीन हजार छ सय ९२ घर आंशिक र दुई हजार १३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । पहिरोका कारण ४० पुलमा क्षति पुगेको छ ।

त्यसैगरी, बाढीका कारण ९७ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता र ४८ जना घाइते भएका छन् । भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका छन् भने ३८ जना घाइते भएका छन् । हावाहुरीका कारण सात जनाको मृत्यु र ४२ जना घाइते भएका छन् । हिउँपहिरोका कारण एक जना बेपत्ता भएका छन् । पहिरोको पूर्वसूचना नभएकै कारण क्षति बढी भएको प्राधिकरणको भनाइ छ ।

विगतको घटनाबाट पाठ सिकेर अघि बढेका छौँ : प्राधिकरण

गत वर्षको असोजमा मुलुकले बाढी, पहिरो र डुबानको अप्रिय घटना सामना गर्नुप¥यो । राजधानीकै जनताको समयमा उद्धार हुन सकेन । पूर्वसूचना प्राप्त भए पनि अन्तरसरकारी निकायबीचको समन्वयको अभाव देखियो । पूर्वतयारी पर्याप्त थिएन । त्यसबेला सरकारले आलोचना समेत खेप्नुपरेको थियो ।

उक्त घटनाबाट पाठ सिक्दै यसवर्ष मनसुन सुरु हुनुअघि नै पूर्वतयारी र प्रतिकार्यका लागि अगाडि बढेको बताउनुहुन्छ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्ट ।

“विगतमा पूर्वतयारी राम्रो नहुनु भनेकै हाम्रा लागि पाठ थियो । गतवर्ष किन सकिएन ? कसरी काम गर्न सकिन्थ्यो रु समीक्षा गरेर यो वर्ष हामीले प्रतिकार्य कार्ययोजना बनाएका थियौँ, जहाँ विगतका कमजोरीहरूलाई केलाएका थियौँ,” उनले भने, “गत असोज १०, ११ र १२ गतेको भारी वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको थियो । कार्ययोजनाको एउटा अध्याय नै असोजको सिकाइ के रह्यो भनेर समीक्षा गरिएको छ ।” यसवर्ष अन्तरसरकारी निकाय तथा अन्य सरोकारवाला सङ्घसंस्थाबीचको राम्रो समन्वयका कारण विपद् व्यवस्थापन सहज भएको भट्टको भनाइ छ ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो थियो प्राधिकरणको तयारी

प्राधिकरणका कार्यकारी समिति अध्यक्ष समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने निर्देशन दिए । सम्भावित विपद्लाई मध्यनजर गर्दै गृहमन्त्री अर्यालको संयोजकत्वमा गृहसचिव रामेश्वर, गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू, चारै सुरक्षा निकायका प्रमुख एवं विपद् ‘फोकल पर्सन’, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई ‘भर्चुअल’ बैठकमा बोलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

प्राधिकरणले एकद्वार नीति अनुसार पूर्वतयारी, खोज तथा उद्धार सम्बद्ध कार्यमा जोड दिएको थियो । केन्द्र र जिल्लामा मनसुन प्रतिकार्य कमाण्ड पोस्टहरू सक्रिय बनाई सम्भावित विपद् व्यवस्थापन गर्न निर्देशन जारी गरिएको थियो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार जिम्मेवार सबै निकाय क्रियाशील हुन निर्देशन दिइएको थियो । जोखिमपूर्ण क्षेत्रमा सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइयो । त्यसैगरी, सर्वसाधारणलगायत सबैलाई असोज १७ देखि २० गतेसम्म अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन सावधान गराउने, खोज तथा उद्धारका लागि सबै सुरक्षा निकाय, स्वयंसेवकलगायतका संयन्त्रहरू तयारी अवस्थामा राख्ने निर्णय भयो ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र चौबीसै घण्टा पूर्णरूपमा क्रियाशील राखी आपत्कालीन गोदामघरहरू तत्काल प्रयोगमा आउन सक्ने गरी तयारी अवस्थामा राखियो । प्राधिकरणले सम्भावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुङ्गासम्बन्धी संघ–संस्था तथा निजी क्षेत्रसँग समझदारी बढायो ।

६५ लाखभन्दा बढी निःशुल्क बाढी पूर्वसूचनासम्बन्धी एसएमएस

जल तथा मौसम विज्ञान विभागले बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि गत शनिबार र आइतबार दुई दिनको अवधिमा करिब ६५ लाख १६ हजार बढी पूर्वसूचना प्रवाह गर्दै प्रभावित क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायलाई मोबाइल एसएमएस पठाएको बताउनुहुन्छ विभागका बाढीविद् बिनोद पराजुली ।

“दुई दिनको अवधिमा नेपाल टेलिकम र एनसेलमार्फत करिब ६५ लाख १६ हजार एसएमएस प्रवाह गरिएको छ,” उनले भने, “बाढीको पूर्वसूचनाका आधारमा सर्वसाधारणले समयमा नै सुरक्षित स्थानमा बस्न पाउनुभयो । पछिल्ला वर्षहरूमा पूर्वसूचनाको प्रभावकै कारण बस्तीमा बाढीबाट मानवीय क्षति कम हुन थालेको छ । अझै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।”

विज्ञ भन्छन् : यसपटक सरकारको विपद्जन्य पूर्वतयारी राम्रो देखियो

विपद् व्यवस्थापनविद्हरूले यसपटक मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकारले गरेको पूर्वतयारीका कार्य राम्रो देखिएको बताएका छन् । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले विपद्का समयमा हुने धनजनको क्षति न्यूनीकरणका लागि सरकारले थालेको तयारी र पूर्वसूचना सम्प्रेषण विगतको तुलनामा यसपटक राम्रो देखिएको भन्दै प्रशंसा गरे ।

“गतवर्ष पनि मौसमविद्हरूले ठूलो वर्षा हुने र बाढी–पहिरोको जोखिम रहने पूर्वानुमान गरेकै थिए । तर यातायात मात्रै सञ्चालन हुन नदिएको भए त्यति धेरै क्षति हुन पाउँदैनथ्यो,” उनले भने, “यसपटक यातायात बन्द गरेर राम्रो भएको छ । आगामी दिनमा पनि यसरी नै आवश्यक पूर्वतयारीका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय बढाउन आवश्यक छ ।

डिपिनेटका अध्यक्ष डा।राजु थापाले सम्भावित विपद्लाई ध्यानमा राखेर सरकारले विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रसँग सहकार्यमा पूर्वतयारी एवं उद्धार कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरेको बताउँदै आगामी दिनमा पनि सामूहिक प्रयासबाटै यस्ता विपद्हरुबाट सुरक्षित हुन सकिनेछ भने । यसैगरी सर्वसाधारणले पनि सरकारले दिएको निर्देशन पालना गरेर सुरक्षित रहन सकेमा भविष्यमा यस्ता विपद्बाट हुनसक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिने उनको तर्क छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार