विराटनगर : हालैको अविरल वर्षापछि कोशी प्रदेशका विभिन्न जिल्लामा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।
प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. केनीन राईका अनुसार आज (बुधबार) बिहानदेखि तीनवटा चिकित्सक टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लातर्फ प्रस्थान गर्न तयार भएका छन् ।
यी टोलीमा प्रादेशिक स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन विभाग र जनस्वास्थ्य विशेषज्ञहरू सहभागी छन् ।
डा. राईका अनुसार टोलीले बाढीपहिरो प्रभावित बस्तीहरूमा पुगेर महामारी र किटजन्य रोग फैलिन नदिन सुझाव दिने, पीडितहरूको स्वास्थ्य अवस्था मूल्याङ्कन गर्ने र आवश्यक उपचार सेवा उपलब्ध गराउनेछ । साथै, टोलीले क्षतिको विवरण पनि सङ्कलन गर्ने तयारी गरेको छ ।
गत केही दिनयता अविरल वर्षाका कारण इलाम, पाँचथर, झापा, सुनसरी, उदयपुर लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ भने पाँचथर, झापा र उदयपुरमा समेत बाढीपहिरोबाट घर, सडक र पुलहरू भत्किएका छन्।
प्रदेश सरकारका अनुसार बाढीपहिरोका कारण विस्थापित परिवारलाई अस्थायी शिविरमा स्वास्थ्य समस्या नहोस् भन्ने उद्देश्यले तत्काल चिकित्सक टोली पठाइएको हो।
स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहहरूलाई सरसफाइ, सुरक्षित खानेपानी र सङ्क्रमण नियन्त्रणमा विशेष ध्यान दिन समेत निर्देशन दिएको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारलाई राहत स्वरूप प्रति परिवार दुई लाख रुपैयाँ र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया