इटहरी : पूर्व–पश्चिम राजमार्गले छोएको रामधुनी नगरपालिका–५ झुम्कामा स्थानीय अशोक रौनियारले घर निर्माण गरेपछि विवाद चुलिएको छ ।
स्थानीय बजार भाउअनुसार महँगो मूल्य पर्ने जग्गामा घर निर्माणसँगै विवाद बढेपछि नगरपालिकाको न्यायिक समितिले दुवै पक्षलाई राखेर छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन ।
घटनाक्रम अनुसार, रामधुनी–५ का भोला रौनियारका परिवारले आफ्नो जग्गा मिचिएको दाबी गर्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।
उक्त उजुरीका विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्दा विवाद समाधान हुन नसकेको मेयर सङ्करलाल चौधरीले बताए ।
उनका अनुसार भोला रौनियारले आफ्नो जग्गा मिचिएको दाबी गरे पनि वास्तविकता पुष्टि गर्न अब जग्गा नापजाँच आवश्यक भएको बताउँदै उनले भने, “पहिले म गाविस अध्यक्ष हुँदा पनि रौनियार परिवारबिचको जग्गा विवाद १४ पटकसम्म मिलाएको थिएँ, पछि मुद्दा अदालतसम्म पुगेको थियो ।
अशोकले बुटल चौधरीको जग्गा किनेका हुन्, त्यसैले नापी नगरीकन ठ्याक्कै भन्न सक्ने अवस्था छैन ।”
मेयर चौधरीका अनुसार अशोकले बिना अनुमति घर निर्माण गरेकाले नगरपालिकाले निर्माण कार्य रोक्न पत्राचार गरिसकेको छ ।
भोलाले भने आफ्नो जग्गा अशोकले मिचेको दाबी गर्दै तत्कालीन भाँदगाउपालिका–सिनुवारी वडा नं. ५ ‘ख’ को कित्ता नं. ११७९ मा रहेको जग्गामध्ये केही भाग मिचिएको बताएका छन् ।
उनका अनुसार अशोकको भद्रगोल–सिनुवारी वडा नं. ६ ‘क’ का कित्ता नं. १७७ को दुई धुर र १७८ को चार धुर गरी जम्मा ६ धुर जग्गा राजमार्ग विस्तारका क्रममा सडकमा परेको हो ।
अशोकले भने बुटल चौधरीका तीन छोरासँग २०७५ सालमा उक्त जग्गा खरिद गरेका हुन् । त्यतिबेला त्यहाँ काठको सानो घर रहेको र सबै सहमति तथा नक्सा भिडाएर जग्गा खरिद गरेको उनले बताए ।
अशोकको भनाइमा, भोला रौनियार पक्षले ‘हेपाहा प्रवृत्ति’ अपनाएर आफूलाई दुःख दिएको हो ।
प्रतिक्रिया