इलाममा अविरल वर्षाबाट क्षतिग्रस्त संरचनाको पूर्वमुख्यमन्त्री थापासहितले गरे स्थलगत निरीक्षण

विहीबार, २३ असोज २०८२

इलाम :गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाले इलाम जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ।

विशेषगरी सूर्योदय नगरपालिका–९ र १ स्थित माईखोला कल्भर्ट पूर्ण रूपमा बगाएको छ भने फिक्कल–माइजोगमाई–नयाँबजार प्रादेशिक सडकको ठूलो भाग भासिएको छ। यस सडक मार्गमा हिलो, पहिरो र सडक कटानका कारण यातायात पूर्णरूपमा अवरुद्ध बनेको छ।

यसैबिच, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले आज सो क्षति क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

अनुगमन टोलीमा प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको पनि उपस्थिति थियो।

स्थलगत निरीक्षणका क्रममा जनप्रतिनिधि र स्थानीयवासीसँगको छलफलमा पूर्व मुख्यमन्त्री थापाले तत्काल अस्थायी पुल र सडक खुलाउने काम अघि बढाउने आश्वासन दिएका छन्।

मन्त्री राईले भने, “जनताको दैनिक जीवन र आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता हो। त्यसपछि दिगो र दीर्घकालीन पुनः निर्माणका लागि प्रदेश सरकार आवश्यक स्रोत जुटाउँदै छ।”

स्थानीयवासीले अविरल वर्षासँगै आएको बाढीले खेतबारी, घरटहरा र बिजुली वितरण लाइनसमेत क्षति पुर्‍याएको बताएका छन्। फिक्कल–माइजोगमाई सडक खण्डमा सडक कटानका कारण विद्यालय जाने विद्यार्थी र बिरामी लैजाने साधन रोकिएका छन्।

सूर्योदयका जनप्रतिनिधिहरूले तत्काल आवतजावत सहज बनाउन अस्थायी कल्भर्ट र डाइभर्सन निर्माण गर्न माग गरेका छन्। उनीहरूले प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर दिगो पुनर्निर्माणको पहल गर्न आग्रह पनि गरे।

प्राविधिक टोलीले क्षति मूल्याङ्कन सुरु गरेको छ। प्रारम्भिक अनुमानअनुसार मयुखोला कल्भर्ट र सडक मर्मतका लागि करिब ३ करोड रुपैयाँभन्दा बढी रकम लाग्ने देखिएको छ।

प्रदेश सरकारका अधिकारीहरूले पुनः निर्माण कार्य छिट्टै सुरु हुने र आगामी दुई साताभित्र अस्थायी आवतजावत व्यवस्था मिलाइने जानकारी दिएका छन्। इलामको यो घटना प्रदेशमा हालैको वर्षासँगै देखिएको प्राकृतिक विपद्को गम्भीर स्वरूपको उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

दिलीप दाहाल
लेखकको बारेमा
दिलीप दाहाल
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी खोटाङमा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार