विराटनगर : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल, कोशी प्रदेशका केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलनमाथि राज्यले गरेको दमनको कडा आलोचना गरेका छन्।
बुधबार जारी विज्ञप्तिमा उनीहरूले भ्रष्टाचार, अन्याय र कुशासनविरुद्ध शान्तिपूर्ण आन्दोलनमा भएको धरपकड र गैरराजनीतिक गतिविधिप्रति खेद प्रकट गरेका छन्।
तरुण दलले सरकारलाई उच्चस्तरीय छानबिन समिति मार्फत दमनमा संलग्नलाई कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरेका छन्।
विज्ञप्तिमा वर्तमान राजनीतिक नेतृत्वलाई ‘म्युजिकल चेयर’ खेलमा सीमित रहेको आरोप लगाउँदै पुरानो मानसिकता त्याग्न र नयाँ पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र पुस्तान्तरणको एजेन्डा आत्मसाथ गर्न आग्रह गरिएको छ।
साथै, आफ्नै पार्टी नेपाली काँग्रेसको नेतृत्वमाथि पनि प्रश्न उठाउँदै, १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद असोज २६ मा सकिँदैछ भनी मङ्सिरमा केन्द्रीय समिति बैठकमार्फत १५औँ राष्ट्रिय महाधिवेशनको मिति तोक्न जोडदार माग गरिएको छ।
तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन निष्पक्ष, धाँधलीरहित र अधिक जनसहभागितामूलक हुनुपर्ने बताए। उनले भने, “निर्वाचनअघि मुख्य राजनीतिक दलहरूले मूल नेतृत्व परिवर्तन गर्नु आम जनताको चाहना हो।”
प्रतिक्रिया