बिर्तामोड : झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सोमबार सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै पुलिसले ऐतिहासिक सफलता हासिल गरेको हो।
खेलको २२ औँ मिनेटमा मिना देउवाको गोलले पुलिसलाई निर्णायक अग्रता दिलायो। रेखा पौडेलको पेनाल्टी बक्सभित्रको सट डिफेन्डरमा लागेर फर्किएपछि बल अनमार्क मिना देउवाको सामु पुग्यो र उनले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाइन। पहिलो हाफदेखि दोस्रो हाफसम्म दुवै टोलीले आक्रमण र रक्षा गर्दै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे।
पुलिसकी कप्तान अमृता जैशीको नेतृत्वमा बलियो रक्षा र तीव्र आक्रमणको संयोजनले एपिएफलाई दबाबमा राख्यो। गोलकिपर उषा नाथको बचाउ, रेखा पौडेलको आक्रमक मुड र मिना देउवाको सक्रियता पुलिसको जित सुनिश्चित बनाएको थियो।
उपाधिसँगै नेपाल पुलिस क्लबले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्यो। उपविजेता एपिएफले नगद ५ लाख रुपैयाँ हात पारेको छ।
फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी र गोल्डकपकी शीर्ष गोलकर्ता दुबै उपाधि मिना देउवाले हात पारिन्। उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै २५ हजार रुपैयाँको पुरस्कार सहित टप स्कोरर बनेकी छन् भने सर्वोत्कृष्ट खेलाडीको पुरस्कारमा १ लाख ५० हजार रुपैयाँ पाएकी छन्।
प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन्। अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) रहेका थिए।
पुरस्कार वितरण समारोहमा गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी र अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेले विजेताहरूलाई सम्मान गरेका थिए।
प्रतिक्रिया